फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर फस्टलुक्समा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मको मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओढ्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।
उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । आँगनमा देखिएको झारले घर पुरानो रहेको अनुमान गर्न सकिन्छ । फिल्मको कथाबारे निर्माण पक्षले अहिलै केही बताएका छैन । फिल्मका निर्देशक सरोज पौडेल हुन् । पौडेलले यसअघि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्देशन गरेका थिए ।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्मका प्रेविल कँडेल र किशोर अनुराग निर्माता हुन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत छ ।



















