मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग ९एसडिसी० का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले आज शिष्टाचार भेट गरको छ ।
सो भेटमा मुख्यमन्त्री सिंह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबीच प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा एसडिसीले मधेस प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । भेटमा मुख्यमन्त्री सिंहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको सङ्घीय शासनपद्धति र संरचना व्यवस्थित तथा विस्तार नहुँदा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको बताए ।
मुख्यमन्त्री सिंहले सङ्घीय कानुन अभाव, कार्यविधि तथा निर्देशिकालाई अन्तिम रूप दिन झन्झटिलो प्रक्रिया र दक्ष जनशक्तिको अपर्याप्त उपलब्धता आदिले योजना कार्यान्वयनमा समस्या हुने गरे पनि विकास साझेदार संस्थामार्फत आउने बजेट निर्धारित समयभित्र खर्च हुने बताए। उनले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेस विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा दिने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट्याए ।
भेटमा नियोगले आगामी दिनमा गर्ने कार्यका बारेमा कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा डेपुटी चिफ अफ मिसन मेयरले सहमति जनाए । उनले सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा एसडिसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाको श्रम, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने विषयमा नियोगका परियोजनाका अनुभव साझा गरेको थियो ।
नियोगका डेपुटी चिफ अफ मिसन मेयरले स्विस सरकार नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिँदै पूर्वाधार तथा मानव संसाधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा रोजगारी आदिका क्षेत्रमा प्रदेश सरकारसँग गर्न सकिने कामका विषयमा समेत परामर्श गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । उनले प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै थप विस्तृत एवम् फराकिलो बनाइने प्रतिबद्धता व्यक्त गरे ।



















