पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति )का अध्यक्ष डा. बाबुराम भट्टराईले श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरु सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई वेवास्ता गर्ने गरेको बताउनुभएको छ ।
आज राजधानीमा नेपाल समाजवादी टे«ड युनियन महासंघ र नेपाल समाजवादी नेवा संघले संयुक्त रुपमा आयोजना गरेको १३६ औं अन्तराष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले शारिरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकहरुको श्रमलाई उच्च सम्मान गर्नु पर्ने पनि बताउनुभयो । उहाँले मजदुरहरुले लडेर ल्याएको ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागु हुनु नसकेको बताउनुभयो ।
भट्टराईले अहिले श्रम गरेर खाने भन्दा बिचौलिया र कमिसन खोरहरुको बिगबिगी भएको पनि बताउनुभयो । मजदुरहरु र आम नेपाली जनताको संघर्षका कारण देशमा संघिय लोकतान्त्रिक व्यवस्था,स्थापना भए पनि मजदुरहरुका समस्या समाधान हुन नसक्नु दु:खद पक्ष भएको बताउनुभयो । उहाँले श्री ५ हटाए पनि अहिलेका सत्तारुढ दलका नेताहरुको कार्यशैली श्री ३ को जस्तो भएको बताउँदै उनीहरुकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गर्नुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व र आर्थिक संमृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पुर्ण समानुपातिक संसद हुनुपर्नेमा जोड दिनुभयो । पुराना दलले मजदुर र आम जनताका समस्या समाधान गर्न नसक्ने भएकोले आफुले अग्रगामी र वैकल्पिक एजेण्डा सहित नेसपा नयाँ शक्ति अगाडी बढाएको पनि बताउनुभयो ।
सोही क्रममा भट्टराईले आफूले भारत भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध समधुर बनाउने काम गरेको पनि बताउनुभयो । नेपालमा राजावादी भन्नेहरुले फैलाएको भ्रमबाट भ्रमित नहुन आफुले भारतका विभिन्न पार्टीका नेताहरुलाई भनेको पनि प्रष्ट पार्दै नेपाली जनताले वर्तमान राजनीतिक दलका नेताहरुसँग असन्तुष्ट भए पनि व्यवस्था प्रति असन्तुष्ट नभएको बताउनुभयो । कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रिय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष बिष्णु पौडेलले सरकारले तोकेको न्यूनतम पारीश्रमिक १७ हजार ५०० सयले मजदुरलाई खान नपुग्ने भएकोले उक्त रकम बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमलाई नेसपा नयाँ शक्तिका सचिव भावना तामाङ , नेसपा नयाँ शक्ति विज्ञ परिषदका सदस्य अनुप सिंह सुवाल, मजदुर महासंघका ईन्चार्ज तेजुलाल कर्णले लगायतले सम्बोधन गर्दै भौतिक र बौद्धिक दुवै खाले श्रम गर्ने श्रमिकहरुको सम्मान हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नेसपा नयाँ शक्तिका केन्द्रिय सदस्य युवा नेता रुप नारायण श्रेष्ठले गर्नुभएको थियो ।

















