काठमाडौँ । आवासीय चिकित्सक र सरकारबिच तीनवटा विषयमा सहमति भएको छ । शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबिच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो ।
तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन् ।
सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए । उनले भने, ‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरूको आन्दोलन भएको थियो । त्यो बारेमा हामीले पटक पटक छलफल ग¥यौँ । र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरू थिए । त्यसको बारेमा हामीले दुई पक्षीय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ । त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरूको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरू फिर्ता लिन तयार हुनुभएको छ । उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्नेछौँ ।’
आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको बताए । अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौँ तह सरह भत्ता दिने प्रतिबद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरू काम गर्न फर्किसकेको उनको भनाई छ ।


















