राजसंस्था पुनस्र्थापनाका लागि गठित ’संयुक्त जनआन्दोलन समिति’ ले ’जनआन्दोलन’ को घोषणा गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन्।
आफू नेतृत्वको समितिको नेतृत्वमा हुने ’जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेनालगायतको साथ रहेको सुवेदीले पत्रकार सम्मेलनमा बताए। सुवेदीले ’जनआन्दोलन’ घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टलगायत उपस्थित थिए।
यसअघि सुवेदी नेतृत्वमा समिति गठन गर्दा लिङ्देन, थापा र विष्टले उक्त समितिमा आफू नरहने बताएका थिए। तर आजको कार्यक्रममा उनीहरू उपस्थित भए भने सुवेदीले जेठ १५ देखि अनिश्चितकालीन ’जनआन्दोलन’ गर्ने घोषणा गर्दा उनीहरू उठेर ताली बजाएका थिए।
सुवेदीले जनआन्दोलनको बलमा उन्नत र प्रजातान्त्रिक प्रणाली स्थापित गरिने पनि दाबी गरेका छन्। संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र स्थापना, केन्द्र र स्थानीय तहमा सरकार, बलियो स्थानीय तह बनाउने पनि उनीहरूको एजेन्डा छ।
‘राजनीतिक दलहरूले चाहने हो भने सहमति र सहकार्यका आधारमा वर्तमान संविधानबाटै यो हासिल हुन्छ,’ उनले भने, ‘व्यापक जनदवाव सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चिलकालीन जनआन्दोलन गर्छौं।’
गणतन्त्र दिवसदेखि नै उनीहरूले आन्दोलन गर्न लागेका हुन्। २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो।


















