आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य उन्ले सुनाए ।
गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । कार्यालयले १० महिनामा आयकरबाट रु एक अर्ब १६ करोड नौ लाख, ब्याजबापत रु आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत रु ८६ करोड ५४ लाख ९७ हजार, अन्त:शुल्कबापत रु ४७ करोड ४६ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।
“कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ”, प्रमुख कर अधिकृत काफ्लेले भने ।


















