युक्रेनले ग–यो ,रूसी हवाई अड्डाहरूमा आक्रमण

 

युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। आइतबार युक्रेनले रूसी हवाई अड्डाहरूलाई लक्ष्य गरेर अहिलेसम्मकै ठूलो परिमाणमा ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेनले रूसको पूर्वी साइबेरियादेखि पश्चिमी सिमासम्म ड्रोन हमला गरेको थियो। युक्रेनको यो हमलालाई अहिलेसम्मको समन्वयात्मक र सटिक हमला भनिएको छ।

हमलाको रणनीतिको निरीक्षण राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैले निरीक्षण गरेका छन्।

युक्रेनी ड्रोन हमलाबाट रूसका धेरै हवाइ अड्डाहरुमा सैन्य विमानहरू आगोको लप्कामा जलिरहेका फोटो र भिडिओहरू समेत सार्वजनिक भएका छन्।

आइतबार रूसले युक्रेनको सैन्य इलाकालाई लक्ष्य गरेर हवाइ आक्रमण गरेको थियो। जुन हमलामा १२ सैनिक मारिएका थिए। युक्रेनले त्यसको बदलामा रूसको हवाई अड्डालाई लक्ष्य बनाएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
रूसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरूले रूसका पाँच ठाउँका हवाई अड्डालाई लक्ष्य बनाएको बताएको छ।

नर्वेको सीमानजिकको मर्मन्स्क, पूर्वी साइबेरियाको इरकुत्स्क लगायत विभिन्न राज्यका हवाई अड्डाहरुमा सैन्य विमानहरूमा आगो लागेको रूसी रक्षा मन्त्रालयले जनाएको छ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार ११७ वटा ड्रोनले रूसी हवाई अड्डामा हमला गरिएको बताएका छन्।

यसले टर्कीको इस्तानबुलमा सोमबार दुई देशका अधिकारीहरूबीच हुने भनिएको वार्ता पनि अनिश्चित बनेको छ।