skip this वडा नं १६ बालाजु च:मती

२०८४ को चुनाबमा बैकल्पिक शक्ति मिलेर जान्छौं : लक्ष्मण कार्की (सन्देश) सचिव नेसपा (नयाँ शक्ति)

तपाईहरुको पार्टी नेसपा (नयाँ शक्ति) ले यही जेठ ३० गते दशैं पार्टी स्थापना दिवस मनाउदै छ एक लाख संस्थापक सदस्य भेला भएर स्थापना गरेको पार्टीमा अहिले कति सदस्य हुनुहुन्छ ?
हो ,यहाँले प्रश्न गर्नुभए जस्तै दश वर्ष अघि हामीे एकलाख जना काठमाडौंको दशरथ रंगशालामा भेला भएर नयाँ शक्ति पार्टी स्थापना गरेका थियौ । अहिले त्यसकै निरन्तरतामा नेसपा (नयाँ शक्ति) पार्टी छ । जहाँसम्म यहाँले अहिलेको सदस्य संख्याको कुरा गर्नुभयो सायद त्यस बेला भन्दा कम हुनसक्छ । तर यो बिचमा हामीले बैचारिक पाटो भने निकै मजबुत बनाएका छौ । बिचार र दृष्टीकोण सही भयो भने पार्टी सदस्य बढ्न समय लाग्दैन । यो बिचमा हामीले धेरै उतार चडाव व्यहोर्दै, बैचारिक सांगठनिक र कार्यक्रमिक रुपले आफुलाई खारेका छौ । यो धेरै अब्बल छ । त्यसैले अव भविष्य वैकल्पिक शक्तिको हो । अब हाम्रो पार्टी अब बढ्दै जान्छ । जे उदेश्य सहित पार्टी स्थापना गरेका थियौ त्यो पुरा गर्न सक्छौ र गरेरै छाड्छौ ।

अहिले हामी संसदिय व्यवस्थामा छौं । संसदिय व्यवस्थामा कति सांसद छन ? भोट कति ल्यायो भन्ने कुराको पनि विशेष अर्थ रहन्छ, त्यसैले सदस्यता बढि हाल्छन भनेर मात्र पुग्ला र ?
हामी त अब पुराना पार्टीले देशको नयाँ आवश्यता पुरा गर्न सक्दैनन । उनीहरुले ईतिहाँसमा खेलेको भुमिका प्रति धन्यवाद दिदै अब नयाँ र अग्रगामी बिचार सहित अगाडी बढ्ने पार्टीले देशको नेतृत्व गर्नु पदर्छ भनेर लागि रहेका छौ । अब विचारमा नयाँ, संगठनात्मक अभ्यासमा नयाँ, पार्टीको कार्यक्रममा नयाँ बनेर जानु पर्दछ भन्ने हाम्रो मान्यता हो । हामीले यसो भनि रहदा पुराना शक्ति र पार्टीले हामीबाट खतरा महशुस गरे । त्यस पछि उनीहरु हामीलाई जसरी हुन्छ कमजोर पार्न लागे, चुनावमा जाँदा चुनाव चिन्ह्र समेत दिएनन, एउटा पक्ष यो भयो । अर्काे हामीले पनि यो बिचमा विभिन्न परीक्षण र प्रयोग गर्दै आयो जसले गर्दा पनि संगठन विस्तारको पाटो कमजोर रह्यो । यी अभ्यास र अनुभवले अहिलेसम्म आउँदा हामी बैचारिक सांगठनिक र कार्यक्रमिक रुपले अब्बल भई सकेका छौं । अब २०८४ को चुना सम्म तपाईले प्रश्न गर्नुभए जस्तै मत र सांसदको हिसाबमा पनि हामी मजवुत बन्छौ । २०८४ सम्म हाम्रो पार्टी सहितका बैकल्पिक शक्तिको हस्तक्षेपकारी अवस्था रहन्छ । जेठ ३० गतेको पार्टी स्थापना दिवस पछि नै हामी शशक्त रुपले अगाडी बढ्छौ । वैकल्पिक शक्ति एकिकृत गर्न पनि पहल गर्दछौ ।

प्रश्न नमिठो लाग्न सक्छ तर तपाईहरुले त दश बर्षसम्म पनि पार्टीको नाम र ब्राण्ड स्थापित गर्नसक्नु भएन नेसपा नयाँशक्तिका बाबुराम होईन कि बाबुरामको पार्टी नेसपा नयाँशक्ति पार्टी भनेर चिनाउनु पर्दछ ? कांग्रेसलाई शेरबहादुर देउबाको पार्टी, एमालेलाई के.पी ओलीको पार्टी त भन्दैन बरु कांग्रेसका देउवा र एमालेका ओली भन्छन नि ?
बाबुराम भट्टराई एकजना बिचारक हुनुहुन्छ । उहाँकै बिचार अनुसार पार्टी अगाडी बढ्दा उहाँको नाम आउनु स्वभाविक हो । जहाँसम्म पार्टीको ब्राण्ड स्थापित गर्न नसककेको कुरा हो यो सहि नै हो । हामीले जनमानसमा नयाँ र बैकल्पिक भनेको के हो ? कसलाई नयाँ भन्ने भनेर बुझाउन नसकेको सत्य हो । नयाँ हुन त बिचारमा, संगठमा व्यवहार र कार्यक्रममा नयाँ हुनुपर्दछ यो हामीले आम जनता बिच बुझाउन सकेनौ, यो हाम्रो कमजोर पक्ष हो ।
बाबुराम भट्टराईले पुराना नेता र पार्टीको ठाँउमा नयाँ आउनुपर्दछ भने पनि म चाहि रहनु पर्दछ अरुको ठाँउमा नयाँ आउनुपर्दछ भने जस्तो व्यवहार देखियो भन्ने नयाँ सहकार्य पुरानैसँग गरेको पनि देखियो त्यसैले कसरी विश्वास गर्ने भन्ने जनताको प्रश्न पनि छ नि ?
बाबुरामले नयाँलाई दिन चाहेनन् भन्ने त आरोप मात्र हो । उहाँले त म बिचार दिन्छु नेतृत्व युवाहरुले गर्नुस भनिरहनुभएको छ । जसले बाबुराम पुरानै भन्छन तीनलाई हामीले बुझाउन नसकेको हो । नयाँ भनकोे त बिचार,कार्यक्रम, संगठनमा हो । तपाईले ख्याल गर्नुभयो भने बाबुरामले माओवादी हुँदा देखि अहिले सम्म सधै नयाँ कुरा गर्नुभएको छ । उहाँको बिचारमा निरन्तर नयाँपन छ । यो कुरा हामाीले जनतालाई बुझाउन सकेनौ । माओवादीमा हुँदा त नयाँ बिचार ल्याउँदा पार्टीले कारवाही नै गर्यो । यद्यपी पछि पार्टी त्यही लाईनमा गयो । अहिले पनि बाबुरामलाई कतिले बहुला भन्छन, कतिले भारत प्रश्त भन्छन ।

नयाँ बिचार ल्याउने विचारक नयाँ आविस्कार गर्ने बैज्ञानिकलाई पनि सुरुमा यसै भन्छन । अहिले हामीले उहाँका बिचार जनतालाई बुझाउन नसक्दा समस्या आएको हो । बिचारमा हेर्नुस हामी सबै भन्दा बैज्ञानिक र अग्रगामी छौं । संगठनको हिसाबमा पनि पोखरा अविधेशनमा पुर्ण समानुपातिक सबै कलस्टरलाई समेट्ने खालको जुन विधान पारीत गरेका छौ, त्यती उन्नत विधान अन्य कुनै पनि दलको छैन । अभ्यासमा हेर्नु हुन्छ भने प्रथम महाधिवेसनमा हामीले सबै भन्दा उन्नत खालको लाकेतान्त्रिक अभ्यास गर्यौ । जहाँ नो भोट देखि विदेशमा रहेका प्रतिनिधिलाई समेत अनलाई भोटिङको अधिकार थियो । यी सबै कुरा हामीले जनतालाई बुझाउन नसक्दा बाबुराम पनि पुरानै हो भन्ने भ्रम छ त्यो चिर्न हामीले नसकेकै हो । हाम्रो कमजोर पक्षनै यही हो । अब त्यो भ्रम पनि हामीले चिर्ने छौ ।

उहाँले राजनीतिमा नयाँ बिचार ल्यानुभएको छ ढिलो चाडो मुलुक त्यही बिचारमा हिड्छ अहिले सबै दलले बाबुरामकै बिचारमा आप्mनो हो जसरी ल्यायी रहेका छन् । जहाँ सम्म विभिन्न पुराना दल संगको सहकार्यको कुरा छ । खासगरी मधेसकेन्द्रीत दल र पहिचानको मुद्धा उठाउने दललाई रुपान्तर गरेर नयाँ बनाउन सकिन्न छ कि भनेर हामीले प्रयास गरेका थियौ । त्यसमा हामी सफल हुन सकेनौ । हामीले अवकास प्राप्त कर्मचारी, पत्रकार , कलाकार सहितको टिमले हुन्छ कि भनेर पनि प्रयास गर्यौ त्यो पनि सफल भएन यहाँ सबैले नयाँ भन्ने तर बिचार प्रबृति पुरानै अगाल्ने गरेकोले हाम्रा प्रयास सफल भनन । मधेशबादी दलसंग मिल्दा त बाबुराम भटरटराइ चोथौ बरीयतामा बसेर एकता गर्न सहमति हुनु भएको थियो । तर यति गर्दा पनि उनीहरुलाई रुपान्तरण गर्न सकिएन ।

यहाँले प्रथम महाधिवेशनमा सबै भन्दा उन्नत खालको लोकतान्त्रिक अभ्यास गर्यौ भन्नु भयो तर बाहिर त जिताउनै पर्नेलाई र्निविरोध गराई अन्यमा निर्विरोध गराए भन्ने पनि आरोप लाग्यो नि ?
यो नबुझ्ने भन्ने हुन, त्यहाँ स्वस्थ प्रतिस्पर्धा भएको थियो, स्वयं बाबुराम भट्टराई चुनाब जितेर अध्यक्ष हुनुभएको हो, युवा नेता नेत्र चापागाई पनि अध्यक्षमा उठ्नुभएको थियो । बाहिर भन्नेले खासगरी मानुषी यमी निर्विरोध भएकोमा बाबुरामले छोरीलाई निर्विरोध गराएर अरुमा चुनाव गराए भनेर झुठ्ठा र निराधार भ्रम पनि फैलाए तर त्यो सत्य होईन । मानुषीजीले महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभयो । त्यसमा अरुले उम्मेदवारी नदिए पछि उहाँ निर्विरोध हुनुभएको हो । कसैलाई दवाब दिएर उम्मेदवारी दिन रोकेको होईन । कसैले दिएको भए प्रतिस्पर्धा हुने थियो । नदिए पछि निर्विरोध हुनुभयो । चुनाव निस्पक्ष थियो । मेरो आफ्नै अनुभवको कुरा गर्नुहुन्छ भने त पार्टीको आन्तरीक चुनावमा मैले भोट हाल्न पाएको त्यो पनि आफैलाई पहिलो पटक हो । प्रजातन्त्रका कुरा धेरै गरे पनि अभ्यास गर्न पाईएको थिएन अभ्यास गरेको यो पहिलो पटक हो । अरु केहीमा बाबुरामलाई दोष लगाउने ठाउँ नपाए पछि छोरीलाई निर्विरोध गरायो भनेका हुन । सत्य के हो भने मानुषीजीको आफ्नो व्यक्तित्व छ । उहाँ आफ्नै क्षमताले निर्विरोध हुनुभयो यसमा बाबुरामलाई जोड्नु पर्ने जरुरीनै छैन ।

अब भाविदिनमा कसरी अगाडी बड्नुहुन्छ ?
यतिबेला हामी ३० गते गर्ने पार्टी स्थापना दिवसको तयारीमा छौ । यस अघि ३ महिने अभियानमा थियौ । ३० गते पछि केन्द्रीय समितीको बैठक बसेर नयाँ कार्ययोजना बनाई जवर जस्त रुपमा जनताको बिचमा जान्छौ, यतिबेला आम जनताले विकल्प खोजेका छन त्यो विकल्प हामीले दिन्छौ । नयाँ भनेर मात्र हुदैन । बिचार, कार्यक्रममा नयाँ हुनुपर्दछ हामी बिचार कार्यक्रम सहितका नयाँ हौ, यो कुरा जनतालाई बुझाउछौ, साथै अन्य नयाँ र वैकल्पीक शक्ति जो संग ऐजेण्डा मिल्छ उनीहरुसंग सहकार्य गर्दछौ र आगामी २०८४को चुनाब सम्म हामी हस्तक्षेपकारी शक्ति बन्दछौ । अहिले बैकल्पिक शक्ति धेर ैछन तर उहाँहरुमा कहाँ पुग्ने भन्ने विचार दृष्टीकोण प्रष्ट छैन । हामीसंग विचार र दृष्टीकोण छ । अब हामी पुरै जनताकोमा जान्छौ । जनताकोमा जाँदा समृद्धी र सुशासनलाई मुख्य एजेण्डा बनाएर जान्छौ । देशमा भष्टाचार अति बढ्यो , भष्टाचारको डिल पनि नेपालमा होईन सिङापुर , मलेशिया , दुवै , कतार जस्ता विदेशी देशमै हुन्छ । भष्टाचार अन्त्य नगरे सम्म शुसासन हुदैन, शुसासन नभए सम्म संमुद्धी हुदैन । त्यसैले हामीले भष्टाचारीलाई जेल नकोचे सम्म पछि हट्दैनौ । देशलाई हाम्रै जीवनकालमा संमृद्ध बनाउछौ । देशमा संमृद्धी भए पछि मानवतावाद सहितको समुन्त समाजवादमा जान्छौ । यहाँ बैकल्पिक भनेर कतिपय युवाहरु प्रजा बन्न राजवादीको पछि लाग्नुभएको छ । म उहाँहरुलाई पनि भन्न चाहन्छु अब पछाडी फर्केने होईन अगाडी बढ्नुपर्दछ । पश्चगामी होईन अग्रगामी सोचको पछि लाग्नुस ।
२०८४ सम्म बैकल्पिक शक्तिहरुको मोर्चा बन्द छ त ?
मत वैकल्पिक भन्नेहरुलाई अब अलग अलग पसल राखेर मत विभाजीत गर्नुहुन्न भन्दछु । हामीले पहिला त छलफल गर्दछौ, बिचार मिल्यो भने किन मोर्चा मात्रै ? पार्टीनै एकता गरेर जान सकिन्छ । ।हामी पद खोज्ने वा अन्य कारणले हामी बाधक बन्दै नौ । ऐजेण्डा मुख्य कुरा हो एजेडा मिल्यो भने हामी पार्टी एकता गरेर एउटै चुनाब चिन्ह लिएर जनताकोमा जान्छौ । गन्तव्य अर्थात बिचारमा पहिला प्रष्ट हुनुपर्दछ । यदि बिचार मिल्यो भने पार्टी एकता नै गर्दछौ । भारत पुग्न तिब्बतिर गएर त हुदैन नि सही बाटो र दिशामा हिड्नु पर्यो । यहि अन्तरवार्ता मार्फत बैकल्पिक शक्तिहरुलाई भन्न चाहान्छु अब अलग अलग पसल थापेर मत विभाजीत गर्नु भनेको पुन पुराना पार्टी र तीन दलका श्री ३ हरुलाई नै बलियो बनाउनु हो किनकि हामीले बिकल्प नदिए जनताले मध्ये भएर ती नै पुराना दल र नेतालाई मत दिन्छन । अब बैकल्पिक शक्तिहरुले त्यस्तो गल्ति गर्नुहुदैन ।

अली फरक प्रसंतर्फ लागौ तपाई त पार्टीको केन्द्रीय सचिवका अतिरिक्त पार्टीको विदेश बिभागमा पनि हुनुहुन्छ विदेश विभागका काम कसरी अगाडी बढिरहेका छन् ?
म भारत प्रवासको ईन्चार्ज छु । उपाध्यक्ष मानुषी यमी विदेश विभागको प्रमुख हुनुहुन्छ । मुख्य कुरो त अहिले कति युवा विदेशमा छन भन्ने नै सरकारसंँग समेत डाटा छैन । त्यसै असरल्ल छ । अब हामीले यसको अवस्था के छ , खोज्द छौ । अनि युवालाई विदेशबाट त्यहाँ सिकेको सिप र कमाएको पूजी नेपाल ल्यार कसरी उत्पादनमा लगााउने भनेर योजना बनाई उक्त योजना सहित अगाडी बढ्छौ । पार्टीकै कामको शिलशिलामा हामी भारत गएर आईसक्यौ । भारतमा कार्यक्रम गर्दा पनि हामीले हाम्रो पार्टीको बिचार के हो भन्ने प्रष्ट राखेका छौ । विदेशमा भएका युवालाई पनि हाम्रो ऐजेण्डा बुझाउछौ । उहाँहरु पनि हामीसँग जोडीनुहुन्छ । त्यसको बिकल्प छैन । नत्र त देशमा यस्तै बेहाल भईरहन्छ ।

विदेश बिभागले त नेपालबाट विदेश गएका युवा खोजेर पार्टी सदस्य बनाउने , त्यहाँ पार्टी कमिटी बनाउने मात्र भन्दा पनि विदेशमा रहेका बैकल्पिक पार्टीसंग सम्बन्ध बढाउने जनता जनता बिचको सम्बन्ध मजबुत बनाएर ट्रायक टु डिप्लोमेसी अन्तरगत मित्र राष्ट्रसँगको सम्बन्ध मजबुत बनाउने होला नि ?
हामीले युवालाई ढुगांमुढा गर्न सिकाउने, चन्दा माग्ने, झोले बनाउने गर्दैनौ, उहाँहरुसँग भएको ज्ञान सिप देशमा कसरी उपयोग गर्न सकिन्छ कसरी उहाँहरुलाई देशमा फर्काउन सकिन्छ भनेर छलफल गर्दछौ । पार्टीको केन्द्रीय समितीमा पनि ४० वर्ष मुनिका धेरै साथीहरु हुनु हुन्छ केन्द्रयी समितीमा भएका युवासाथीहरुसंग समेत छलफल गरेर कार्यक्रम बनाउनेछौ ।

यहाँले भारत गएर आएको बताईसक्नुभयो त्यस समयमा पार्टी अध्यक्ष बाबुराम भट्टराई आफै पनि भारत जानुभएको थियो भ्रमण कतिको उपल्बधी मुलक रह्यो ?
हो पार्टी अध्यक्ष बाबुराम भट्टराइ , भारतको ईन्चार्ज म आफै , विदेश बिभाग प्रमुख मानुषी यमी र पार्टीका कोषाध्यक्ष हरी रिजाल सहितको टिम भारत गएका थियौ । भारत जानुको मुख्य उदेश्य त पार्टीकै काम थियो । तर भारतमा रहँदा पार्टी अध्यक्ष बाबुरा भट्टराईको भारतका सत्तारुढ र बिपक्षी दलका महत्वपुर्ण, पुर्वराजदुतहरु अनि भारतका प्रतिष्ठीत पत्रकारहरुसँग भेट र छलफल भयो । मेरो अनुभव के रहयो भने कुटनीतिक तवरले हेर्दा नेपालका सत्तारुढ दलहरुका गतिविधिले गर्दा भारतस्ांग सम्बन्ध बिगे्रको अवस्था रहेछ । पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष बाबुराम भट्राइलाई उहाँहरुले अत्यन्त सम्मान पुर्ण व्यवहार गरी भेटघाट र छलफल गर्नुभयो । भेटका अवसरमा बाबुरामले प्रष्ट रुपमा भन्नुभयो न हामी चाईना प्रो हो न भारत हामीले पञ्चशिलताको आधारमा तटस्थ विदेश नीति अपनाउछौ भनेर तपाईलाई थाहा छ यहाका सरकारी अधिकारी र ठुला भन्ने दलका नेताले समेत त्यहाँका कर्मचारी स्तरका मान्छेलाई भेट्न नपाई रहेको अवस्थामा डाक्टर बावुराम भट्टराईलाई त्यहाँ जुन उच्च सम्मान साथ पदस्थ नेता र अधिकारीहरुले भेट्नुभयो त्यसबाट नेपालको ईज्जत बढेको छ । भेटमा उहाँहरुको नेपालमा भईरहेको राजावादी आन्दोलनबारे पनि जिज्ञासा राख्नुभयो डा भट्टराईले त्यस बारेमा प्रष्ट पार्नुभयो । भेटमा बाबुराम भटुराईले ईपीजीको बारेमा जिज्ञासा राख्दै दुई देश बिचका समस्या सरकारको स्तरमा कुरा गरेर समाधान खोज्नुपर्ने बिचार पनि राख्न भयो ।
समग्रमा भ्रमण अत्यन्तै फलदायी र सफल भयो ।

पार्टीको बिदेश बिभाग मार्फत अन्य देशका बैकल्पिक पार्टीसंग सहकार्य गर्नुहुन्न ?
बैकल्पिक बिचार बोक्ने पार्टी र शक्तिहरुसंग हाम्रो सम्बन्ध बिस्तार गर्दछौ । त्यतीमात्र होईन हामी दुई बिशाल देश र ठुला अर्थतन्त्रको बिचमा छौ । विदेशी नीति पन्चशीलका आधार बनाउछ छौ । हामी भारत वा चाईना प्रो भन्ने हुदैन । हामीले भारत, चिन ,अमेरिका, युरोप सहित सबै मित्र राष्ट्रसंग राम्रो सम्बन्ध राख्नुपर्दछ । कोही प्रो हुनुहुन्न भन्ने हो । त्यस्तै बैकल्पिक बिचार बोक्ने पार्टी र शक्तिहरुसंग पनि हाम्रो सम्बन्ध बिस्तार गर्दछौ ।

अन्त्यमा ?
अन्त्यमा ,म सबै दर्शकलाई हामीले धेरै उतार चडाव ब्यहोर्दै, बैचारिक, सांगठनिक र कार्यक्रमिक रुपले आफुलाई खारेका छौ । यो धेरै अब्बछ ।त्यसैले अब भबिष्य बैकल्पिक शक्तिको हो । हामीले गर्न सक्छौ गरेरै छाड्छौ भ्रममा नपर्नुस् । हामीलाई साथ दिनुस् भन्दै यही जेठ ३० गते दिउसो १ बजे राष्ट्रिय सभागृहमा दशौ पार्टी स्थापना कार्यक्रममा निम्ता दिन चाहन्छु ।