काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।


















