skip this वडा नं १६ बालाजु च:मती

सक्रिय जेष्ठ नागरिकहरूको सबल धाम

नभएको विधामा स–साना कुराबाट केही काम थालौं भन्ने उद्देश्य राखी नहुदा सेवा नामक संस्था नेपालमा स्थापना भएको छ। यस संस्थाका संस्थापक सदस्यहरूले यस संस्थामा केही योगदान गर्ने तर यसबाट कुनै फाइदा नलिने भनेरनै यसलाई नाफा बितरण नगर्ने कम्पनीकोरुपमा २०७९ जेठ १० गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेका हुन्। नभएको सोचमा काम गर्ने भनेको यो संस्थाले तत्काल गर्न चाहेको के हो भने सक्रिय जेष्ठ नागरिक सबल धाम निर्माण गर्ने र त्यसमा सक्रिय तर वानप्रस्थ वा सो उमेर नाघेका नागरिकहरूलाई बसोबास गराउने हो। अर्थात् उमेर ढल्केका, जवानी काटीसकेका तर देशमा अझै केहीगर्न सक्छु भन्ने अठोट राखेका, सक्रिय जीवन निर्वाह गरिरहेका र गर्न चाहने, समुदायमा जेसकेको खुला योगदान गर्छु भन्ने भावनाले ओतपोत भएका, लाग्ने शुल्क तिरेर खुशीसाथ आफ्ना समवयीसंग आनन्दले बांकी जीवन विताउन र अन्तिम अवस्थासम्म हांसेर बांच्ने चाहना भएकाहरूलाई एउटा प्राकृतिक वातावरण दिएर रमाउन लगाउने हो।

संसारमा केही पनि बस्तु निशुल्क हुंदैन वा हुनैसक्दैन। कुनै पनि बस्तुको लागि कसैन कसैैले मूल्य त चुकाउनै पर्छ। तसर्थ, यो सबल धाममा बस्न आउनेले रकम तिरेरै बस्ने हो। यदि उपयुक्त वातावरण दिएमा, सक्नेले रकम तिरेरै पनि आनन्दपूर्वक मज्जाले बस्न चाहन्छन्, रमाउन सक्छन्, बस्छन् भन्नेनै यो अवधारणको मूलमन्त्र हो।

नेपालको अहिलेको सत्य बस्तुस्थिति भनेको विविध कारणले गर्दा भनौ पढाई वा कामको खोजिमा आफ्ना प्रिय सन्तानहरू आत्मिय अभिभावकहरूलाई विचल्ली पारेर गाउंबाट शहर र शहरबाट बिदेश लाग्नु परेको छ। २०८२ असार २९ का दिन मैले च्याटजीपीटी लाई बर्षेनी कति नेपाली कामगर्न, पढन र बसाईंसराइ गरेर नेपाल छाड्छन् भनेर सोधेकोमा ४५ सेकेण्डमा यस्तो जानकारी प्राप्त भयो: सन् २०२४मा सरकारबाट स्वीकृति लिएर कामगर्न गएका संख्या ८,५६,४२२, उच्च शिक्षको लागि गएका १,१९,४०९ तथा पीआर, ग्रिनकार्ड आदि पाएर बसाईंसराइ भएका संस्ख्या ६६,८३५ भनेर जवाफ दियो। यो गणनामा ठुलो संख्या भारतमा काममा जाने पक्कै पदैनन् नै। सवालाख पढ्नमात्र जाने देखिए, ती पनि पढाई सकिएपछि देश फर्कने स्थिति आज छैन। बरु नेपालमा भएका जायजेथा समेत् सुक्रिबिक्रि गरि विदेशमै घरबार गर्ने जमात् बढदो छ। यो अत्यन्त कहालीलाग्दो र डरलाग्दो स्थिति हो। तर यस्तो स्थितिको निराकरण गर्ने नीति योजना सरकारमा पटक्कै देखिएको छैन। तब न झन नेपालमा रहेका जेष्ठनागरिकको जटिलता बढदै गएको हो।

नेपालका युवाहरूको विदेश पलायन त व्याख्या गर्नै पदैन, माथिनै भनियो। यसको अर्थ हो बिस्तारै थप जेष्ठ नागरिकहरू आफ्ना सन्तानबाट टाढिंदैछन्। अझै व्याख्या गर्ने हो भने तिनका आमा बाबा वा आमा अथवा बाबा एक लिदै जाने हो। आफ्नो जन्म थलो, कमाई, बन्दोबस्ती आदि चटृ छाडेर आफ्ना बालबच्चा बसेका ठाउंमा जान उनीहरूलाई भित्री हृदयले रोक्छ। किनकि ढल्कदों उमेरका उनीहरूले विदेशको रास न भाष के बुझ्छन् र, विरानो ठाउंमा कसरी जीवन निर्बाह गर्ने भनेर पिरोलिन्छन्। तब आफ्ना आफन्त, छर छिमेकी र समबयीहरूलाई चटक्क छाड्न उनीहरूका मनले मान्दैन। यस्ता अभिभावकहरूको संख्या नेपालमा दैनिक बढोत्तरी भइरहेको छ । जससंग आफ्नो सम्पत्ती पनि छ, नेपालको माया छ, नेपालमै केहीगरुं भन्ने हुट्हुटी छ, त्यस्ता नागरिकहरूलाई एक स्थानमा जुटाएर उनीहरूका जेष्ठ उमेरलाई प्रभावकारी सदुपयोग गर्ने दूरदृष्टि यस सबल धामको रहेको छ।

एकल भएका वा जुगल जोडी जसका बालबालिका बिदेशमा छन् वा घर बाहिरछन्, अर्थात् कारणबश आमाबाबुसंग संगै छैनन्, तर सकृय जीवन व्यथितगर्न चाहन्छन्, उनीहरूमा लाग्दो शुल्क व्यहोरेर आनन्दसंग बस्न सक्ने क्षमता पनि छ, चाहन्छन् पनि भने, उनीहरूलाई केवल समवयी एवं सहृदयी समूहसंग रहनु छ, त्यस्ता जेष्ठ नागरिकका लागि एउटा नवीन सोचको– ढांचाको– प्रकृयाको आवास अर्थात् सबल धाम सञ्चालन गर्ने अभियान हो यो।

यकातिर विदेशमा घरबार गर्नेले आफ्ना मातापितालाई उतै झिकाउन खोज्ने चाहना राख्दा रहेछन्, छोरा छोरीको दृष्टिबाट हेर्दा स्वाभाविक लाग्छ। तर, जन्मेको मातृथलो, जीवनको लामो समय परिश्रम गरेर आर्जेको प्रतिष्ठा, अनुभव, सीपलाई चटक्क छाड्न र नातागोता साथीभाईबाट टाढा हुन चाहन्न भन्ने सक्रिय व्यक्तिका लागि विदेश पलायन सहज नहुंदो रहेछ। यी दुई लान खोज्ने र जान नचाहने दुबैका लागि सुहांउदो परिवेश निर्माण गर्न सके अभिभावक र उनका लालाबाला दुबै आनन्दित हुने वातावरण हुन्छ भनेर नै नहुदा सेवाको जन्म भएको हो।

यदि नहुदा सेवाले आफ्ना अभिभावकहरूलाई बिस्तारित परिवार भित्र एकिकृत भएर रहने; रमाइलो प्राकृतिक वातावरणमा रम्न पाउने; समवयीसंग आफना अनुभव, जांगर, जोश मिसाएर समुदायमा प्रवाहित गर्न सक्ने; र अन्तिम अवस्थासम्म पनि ती अभिभावकहरू खुशीभएर हासेर जीवन यापन गर्न पाउने कुराको प्रत्याभूति गराउन सक्छ भने जो कोही लालाबालाले आफ्ना मातापितालाई अत्यन्त जोड गरेर मातृभूमि तथा कर्मथलो छाड्न लगाउंदैनन् भन्ने अटल विश्वास नहुदा सेवाको रहेकोछ। यही कार्य नहुदा सेवाले गर्न खोजेको हो, यस प्रकारको सोच नेपालमा हालसम्म छैन र नहुदाको परिभाषा भित्र पर्न आएको छ।

सक्रिय सबल धाम, अर्थात् सक्रियहरूका दोश्रो घर अथवा सक्रिय जेष्ठ नागरिक आवास, जे भनौ, त्यो यस्तो घर जहां बस्ने मात्र सबल हुने वा रहने हैनन्। छर छिमेक ग्रामीण भेगका सर्वसाधारणलाई पनि भरिसक्य सबल बनाउदै लैजाने हो। यसो भनौं– यो धाम जहां जेष्ठ नागरिकहरू बस्छन्, ती मूल घर छाडेर आएका हुन्छन् तापनि यसलाई आफ्नो दोश्रो तर सबल घर मान्छन्। नाच्छन्, गाउंछन्, रम्छन् र एकअर्कामा यति घुलमिल हुन्छन् कि उनीहरूको पहिलो घर, परिवारका सदस्यहरूलाई नै विर्सन्छन्। यस्तो परिवेशको सिर्जना गरिरहंदा, यहां बसोबास गर्नेहरूका सन्तानसंग निकटतम सम्बन्ध गराई राख्ने, उनीहरूसंग जोडाइराख्ने पनि नहुदा सेवाको उद्देश्यहरू मध्येको प्रमुख हो। नहुदा सेवाको अर्को उद्देश्य भनेको सबल धाममा रहने व्यक्तिहरूको सीप, ज्ञान, अनुभव तथा योग्यतालाई कुनैनकुनैरुपमा समुदायमा सदुपयोग गर्दै जाने हो। मानिस उमेरले जेष्ठ ठहरिन सक्छ, जोश र जांगरले ऊ युवै बनिरहन पाउंछ, यो उसको नैसर्गिक अधिकारै हो, नहुदा सेवाले निर्माण गर्ने सबल धाम सिद्धान्तले यस्ता कुराको पत्याभूति गर्ने हो ।

उमेर ढल्केका यस्ता सक्रिय आत्मविश्वासी नागरिक नेपालमा प्रशस्त छन्। यी भन्छन्– देश, घर परिवार, कामकाज, समाजले दिने जति दिइसके, अब हामीले जे सकेको समुदायलाई फीर्ता गर्ने हो। अर्थात्, आफ्नो बांकी जीवन समाजको स्वयंसेवामा अर्पण गर्ने हो। नहुदा सेवाका सदस्यहरू चिकित्सा क्षेत्रका, इन्जिनियर, बैंकर, पूर्वप्रशासक, संयुक्त राष्ट्रसंघको निकायमा रहेर विभिन्न देशमा सेवा गरेका अनुभवी, विपद्को जानकारी राख्ने, पुस्तकालय प्रेमी, वातावरण प्रेमी, तालिम ज्ञाता आदि क्षेत्रका अनुभवी र योगदान गर्नसक्ने छन्। सदस्यहरूले एक थलोमा बसौं र छरछिमेक समुदायमा के कसरी योगदानको आदान प्रदान गर्नसकिन्छ गरौं भन्ने अठोट गरेको आधारमा, नहुदा सेवाकै एक सदस्यले लांकुरी भञ्ज्याङ्को नजिकै उत्तर तर्फ पनौती नगरपालिका वडा नं.एक स्थित बतासे डांडामा चार रोपनी जग्गा यस संस्थाको नाममा पास गरिदिएका छन्। भौतिक पूर्वाधारको लागि अपरिहार्य जग्गा व्यवस्थापन भएबाट यस अभियानले द्रुतगति लिने बाटो अवलम्बन भएकोछ।

पनौती नगरपालिका प्रमुख एवं वडा एकका पदाधिकारीहरूसंग बसेर यस अभियानको बारेमा पटक पटक कुराकानी भएकोछ। जेष्ठ नागरिकहरूका हक हितका कुराहरूमा स्थानीय सरकार अर्थात्, उहांहरूको रुची वा क्षेत्र नहुने भन्ने कुरै नभएकोले संगसंगै हातोमालो गरौं भनेर उहांहरूबाट नहुदा सेवाका सदस्यहरूलाई अभिप्रेरित गर्ने काम भएकोछ। कतिसम्म भने पनौती नगरपालिका यस संस्थाको संस्थागत सदश्यनै बनेको छ।

सकारले प्रशासनमा खारिएर सचिबको जिम्मेवारी पुरागरी भरखर सेवानिबृत्त भएका पोख्त, अनुभवी प्रशासकहरूको ५९ वर्ष देखिको बांकी जीवन समुदायमा योगदान गराउने सोच नलिएको अवस्थामा, नहुदा सेवाले भने साधारण अनुभव, सीप, जोस जांगर भएका सामान्य जेष्ठ नागरिकहरूलाई समेत् उमेरको अन्तिम समयसम्म घोटाउने अर्थात् सक्रिय राख्ने लक्ष राखेकोछ।

स्वदेश अथवा विदेशमा शसुल्क वा सरकारद्वारा सञ्चालित निशुल्क जेष्ठ नागरिक गृह, हेरचाह गृह, चिकित्सकीय हेरचाह गृह, बृद्धाश्रम अथवा यस्तै यस्तै प्रकारका गृहहरूको व्यवस्था हुने गरेकोछ। ती सबैमा सामान्यतया जेष्ठनागरिक असक्त वा रोगी अथवा असहाय भएपछि लग्ने, जाने, बस्ने बसाउने मात्र पाइयो। ‘उमेरले जेष्ठ नागरिक बनेका तर जोश, जांगर, सीप, कला, कौशलले भरपुर अनुभव भएका ; समुदायलाई केही न केही सहयोग गर्नसक्छु भन्ने अठोट भएका ; समाज सेवामा जुट्न चाहने ठुलो समूह नेपालमा छन्, तिनलाई भरपुर उपयोग गर्ने थलो खोई’? भनेरनै यो नञा सोच आएको हो।
चिकित्सा विज्ञानको सदुपयोगले र समुदायमा सचेतता बढेकोले पनि होला, आजको समयमा आयु औसत बृद्धि हुंदैछ। देशको अवस्था लगायतका विविध कारणले गर्दा बालबालिकाहरू विदेश गएका छन्, रमाएका छन। उमेर, स्वास्थ्य वा अन्य कुनै घटनाले एकल बनेका, अथवा जेसुकै कारणले संयुक्त परिवारमा बस्न नसक्ने भएका जेष्ठ नागरिकहरूको बांकी जीवन कठिनाईमा पर्नथालेको छ। अध्ययन, काम, पेशा र अस्थित्वको खोजीमा विश्व बजारमा रहंदा, आफ्ना प्रिय आमा बुबालाई नेपालमा अलपत्र छाड्नु पर्दा, उहांहरूको ढल्कंदो उमेरमा संगै रहेर सघाउन नसक्ने भएकाले अभिभावकको योग्यता, क्षमता, अनुभव आदिको ख्यालराखी उहांहरूलाई समान समुहमा आवद्ध गराई मैत्रीपूर्ण र रमाइलोसंग उहांहरूमा भएका सीप, ज्ञान तथा विद्वताको अधिकतम सदुपयोग हुनेगरी सफल जीवन यापन गराउन सक्ने उत्कृष्ठ संस्थाको खोजी नेपाल बाहिर रहेका ठुलो संख्याका युवाजगतले पनि गरिरहेको छ। त्यसैले यो कार्य आज वा भोली कुनै न कुनै व्यक्ति वा समुदाय अथवा संस्थाले गर्नुनै छ। तब भविश्यमा कसैले गरोस् भनेर किन कुर्ने? देशमा नभएको कुरा न शुरुगर्ने हो भनेर नहुदा सेवानै यस अभियानमा केही सह्ृदयी सहयोगीहरूका हातहरू जुटाउंदै अघिबढेको हो।

नहुदा सेवाको लक्ष किटान छ। पुग्ने गन्तव्यको दूरदृष्टि स्पस्ट छ। सक्षम, केही गर्ने हुटहुटी भएका र रम्ने रमाउने समूहलाई त्यहां समेटनेनै हो। यस अभियान अन्तर्गत् चालिस जोडी वा एकल समेत् हाल ८० जनालाई उक्त सबल गृहमा भित्राउने हो। व्यक्ति व्यक्तिलाई रमाउन दिने हो, नमुना स्वरुपको एउटा सक्रिय जेष्ठ नागरिक धाम बनाउने हो, अन्यान्य स्थानहरूमा विस्तारै सहयोगी हातहरू जुटाएर यसलाई रुपान्तरण गर्दै लैजाने हो। गर्न सकिन्छ, गर्नुपर्छ र हामीलेनै यसको सुरुआत गर्ने हो– नहुदा सेवाका सदस्यहरूको उद्घोष छ !

नहुदा सेवाले समुदायमा स–साना कृयाकलापहरू तीनवर्ष अघि देखिनै सुरु गरिसकेको छ। केही उदाहरण: यूट्युबमा नहुदा सेवा चिनारी, चौतारी बा, मोटरसाइकल रिपिएर ट्रेनिङ, अपील फर सपोर्ट टू नहुदा सेवा, नहुदा सेवाले लांकुरे भञ्ज्याङमा सक्रिय जेष्ठनागरिक सबल धाम निर्माण गर्ने जस्ता कुराहरू हेर्न सुन्न सकिन्छ। यसका अतिरिक्त आर्थिक कमजोर समुहका स–साना बालबालिकालाई विद्यालयमै गएर किताब, कापी कलम वितरण गर्ने वा गत वर्ष ०८०को वाढीमा प्रभावितलाई थोरै भएपनि भरमद्दत गर्ने सहयोगी कामहरू यस संस्थाबाट भइआएका छन्।

नहुदा सेवाले तोकेको शुल्क तिरेर बस्न चाहनेहरूका लागि सर्बप्रथम उहांहरूसंगै बसेर के कस्ता कर्तव्य पालना गर्नुपर्ने, के कस्ता अधिकार हुन्छन् भन्ने बारेमा आचार संहिता बनाइन्छ। क कसको के के खुवी, अनुभव, सीप, योग्यता, रुचीछन् तिनको आधारमा सबल धाममा तथा समुदायमा के कस्ता र कसरी उहांहरूलाई समाहित गर्न सकिन्छ, त्यसको योजनाहरू पनि सामुहिक रोहबरमै तयार हुन्छन्। त्यहां रहने सबैका लागि स्वस्थ रहन गरिने अभ्यास, पौष्टिक सात्विक आहार, शारिरिक प्ररिश्रम, बेला समयमा स्वास्थ्य परिक्षण, योग आदि सबै बारे छलफलबाट तय गरिन्छ र त सबैको हातेमालोमा यस धाम, नहुदा संस्था संगसंगै उन्नत हुंदै जान्छ। नजिकैको समुदायलाई परिआउने स–साना काममा सघाइन्छ, केन्द्र, प्रदेश एवं स्थानीय निकायसंग निकटतम सम्बन्ध राखेर विविध कृयाकलापहरू सञ्चालन गरिन्छ। तिन पुस्ता सम्मका पिढीलाई एकाकार गर्न पहलहरू गरिन्छ । यसरी एउटा सानो सबल, सशक्त ग्रामरुपी धामको नमूना प्रदर्शन गरिन्छ। स्थानीय निकायको कार्यक्रममा परेर भवन बन्न केही समय लाग्छ नै। यस अवधिमा नहुदा सेवाका सदस्यहरूको आर्थिक संयोजनमा २० जना बस्न सक्ने सानो एउटा सानो भवन निकट भविश्यमै निर्माण गरिने लक्ष्यस्वरुपको यो अभियान अघि बढीसकेकोछ। सहयोग गर्न /जुटाउन सक्ने र उत्सुक सबैमा सहयोगको लागि नहुदा सेवाका सदस्यहरूले करजोडी विनम्र आग्रह गरेकाछन्।