गजामा मानवीय सहायता लिनका लागि उपस्थित भएका मानिसहरूमाथि इसराइली सेनाले अन्धाधुन्ध गोली चलाएको छ।
आइतबार उत्तरी गजामा मानवीय सहायतको पर्खाइमा रहेकाहरूमाथि इसराइली सेनाले अन्धाधुन्ध गोली चलाउँदा ६७ जनाको मृत्यु
भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
पछिल्लो केही दिन यता गजामा भोकमरीले मानिसहरूको अवस्था विकराल छ। मानवीय सहायता पर्याप्त मात्रामा पुर्याउने अवस्था नरहेको परिस्थितीमा गजामा हजारौं मानिसहरू भोकमरीले आक्रान्त रहेको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘शरीर सुकेर हड्डी मात्र बाँकी भएका सयौं नागरिकहरू भोककै कारण तुरुन्तै मृत्युतिर गइरहेका छन्,’ गजाको स्वास्थ्य मन्त्रालयले भनेको छ।
अत्यन्त न्यून परिमाणमा मानवीय सहायता गजा पुग्ने गरेको छ।
विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूले गजामा पर्याप्त मात्रामा मानवीय सहायता पुर्याउन तयार रहेको बताए पनि इसराइली सेनाले निश्चित परिमाणमा मात्रै गजामा मानवीय सहायताका सामग्री बोकेका ट्रकहरूलाई प्रवेश दिने गरेको छ।
मानवीय सहायता वितरणका लागि पनि निश्चित ठाउँ तोकिएको छ।
ती ठाउँहरूमा मानिहसहरूको ठूलो भिड लाग्ने गरेको र भिड अनियन्त्रित हुन थालेपछि इसराइली सेनाले गोली चलाउने गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इसराइली सेनाले भने गजाको स्वास्थ्य मन्त्रालयको उक्त विवरण झुटो रहेको बताएको छ। मृतकको संख्या बढाइचढाइ गरिएको सेनाले बताएको छ।

















