गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुन:निर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ ।
विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुन:निर्माण गरी चाँडो पुन: सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । उनीहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इञ्जिनीयर बाबुराम पौडेललगायतको सहभागिता थियो ।
विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “विमानस्थल पुन:निर्माण चाँडो सक्ने र अस्थायी रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाल अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो”, गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव ईश्वरीप्रसाद जोशीले भने– “विमानस्थल पुन: सञ्चालन गृहमन्त्री लेखकको प्राथमिकता तथा निर्वाचनमा मतदातासामु गरेको प्रतिवद्धता पनि हो, त्यो पूरा हुने प्रक्रियामा छ ।”
मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि रु पाँच करोड र रन्वे निर्माण गर्न रु १३ करोड ३० लाख बजेट सङ्घीय सरकारले विनियोजन गरेको छ । “बजेटको सीमितताबीच मझगाउँ विमानस्थल पुन:निर्माण गर्न राम्रै बजेट विनियोजन गरेका छौँ”, पर्यटनमन्त्री पाण्डेले भने– “विमानस्थल पुन: सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढेका छौंँ ।”
मझगाउँ विमानस्थलको दीर्घकालीन महत्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुन:निर्माण र पुन:सञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए । “ सङ्घीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ”, उनले भने, “प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुन:निर्माणमा साझेदारी गरेका कारण काम दु्रतगतिमा अघि बढेको छ ।”
कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुन:निर्माणमा गति पाएको हो । “दक्षिणतर्फ नेपाली सेना र रत्न पाटिकाको जमिन विमानस्थलका लागि उपयोग गर्ने विषयमा विगतमा भएको विवाद समाधान भएर काम सुरु भइसकेको छ”, गृहमन्त्री लेखकले भने, “विद्युत् विस्तार र सुरक्षा प्रबन्धका लागि पनि पहल भइसकेको छ ।”
केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँगएका गृहमन्त्री लेखकले विमानस्थल पुन:निर्माणमा कुनै समस्या नहुने बताउनुभएको थियो । एक हजार ५ सय २५ मिटरको रन्वे निर्माण गर्ने क्रममा नेपाली सेनाले एक सय ५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ । रन्वे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ ।



















