आफ्नो सदस्यता खारेज गर्ने पार्टीको निर्णय आवेगमा र  अपरिपक्व निर्णय , पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि  पूर्वराष्ट्रपति विद्यादेवी  भण्डारीले आज पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।उक्त बैठकले उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुन: राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् ।

नेकपा एमालेको सूर्य चिह्नअंकित ब्यानरमा पत्रकार सम्मेलन गरेकी भण्डारीले आफ्नो सदस्यता खोस्ने वा खारेज गर्ने पार्टीको निर्णय उत्तेजना र आवेगमा भन्दै त्यसलाई अपरिपक्व निर्णयको संज्ञा दिइन् ।

‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ’, भण्डारीले भनिन्, ‘जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ । ’

हालैका दिनमा नेकपा (एमाले) को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएको पनि भण्डारीको भनाइ छ ।

‘ यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ’, उनले भनिन्, ‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन ।’

उनले विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनुपर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म भएको भन्दै  पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुनै नसक्ने बताइन् ।