श्रावण चतुर्दशी र हाम्रो संस्कृति

श्रावण महिना श्रीशिवको अति प्यारो महिना, त्यसमा सोमबार झन् प्यारो त्यसमा पनि चतुर्दशी तिथि शिवको परम प्यारो दिन हो । स्कन्द पुराणका अनुसार नेपालको ६४ ज्योतिर्लिंगहरुको उदय सन्दर्भ धेरै चतुर्दशी नै छन् ।
यस वर्षको श्रावण कृष्ण चतुर्दशी जसलाई घण्टाकर्ण चतुर्दशी भनियो, र नेवारी भाषामा ‘गथां मुग’ बा भनौँ ‘च ह्रे पूजा’ पनि भनियो यही ७ गते समापन भएको छ । यस दिन शिवपुत्र स्कन्दकुमार र भैरवको पूजा हुन्छ । नेवार समुदायमा वर्षकै ठूलो चाड हो यो । यो चाड राम्ररी मनाउन पाए अन्य चाड पनि राम्ररी मनाउन सकिने विश्वास छ । यसै दिन टोल टोल दोबाटाहरुमा ३ वटा नर्कट उभ्याइन्छ, नाँग्लोमा अनुहार बनाएर, हाँडीको टाउको राखेर, अद्भूत चित्रहरु बनाई, कपडाका पुतलीहरुले सजाई घण्टाकर्णको प्रतिक बनाइन्छ । भूत प्रेत पिचासको प्रतिकको रुपमा तान्त्रिक विधिबाट त्यसलाई विर्सजन गरिन्छ, राक्षसको प्रतिक मानी अबदेखि घर, आँगन, बस्ती खेतीपातीमा दुःख नदेओस् भन्ने मनसायले खेद्ने गरिन्छ ।
प्रारम्भः
काठमाडौँमा एक राक्षस रहेछ, उसलाई धर्म कर्म पटक्कै मन नपर्ने, विधर्मी ऊबाट धेरैको सातो गएछ । मठ, मन्दिर, सत्सँगको चर्चा गर्नेलाई उसले मारिदिन्थ्यो रे । धर्म कर्मको कुरा सुन्दा उसका कान टट्याउँने हुँदा कानले त्यो सुन्न नपरोस् भनी बोक्नै नसक्ने गरुँगो भारी उसका कानमा राख्ने गर्दोरहेछ । कर्ण अर्थात् कानमा घण्टा झुण्ड्याएकाले उसको नाम घण्टाकर्ण रह्यो । मानिसलाई दुःख दिने, देव मन्दिर भत्काउने सुनभन्दा फलामको प्यारो, साधु, सन्त देख्ना साथ सिध्याइहाल्ने, दोबाटोमा बाटो ढुक्ने, बाटोमा बसेर कर, जगात उठाउने, नदिए धरपकड गर्ने नरभक्षी र स्त्रीहरुको बेइज्जत गर्ने, आतँक नै सिर्जना गर्दो रहेछ उसले !

एक दिन उसलाई भोकलाग्दा केही भेटेनछ, नजिक एउटा भ्यागुतो देखेछ र उसले सोधेछ ‘मानिसको बस्ती कतातिर छ’ भनेर ! उसको खराव व्यवहार बुझेको भ्यागुतोले हिलोतिर देखाउँदै ‘त्यतै छ मानव बस्ती’ भनिदिँदा आहार खोज्दै गएको त्यो राक्षस ठूलो शरिर हुनाले हिलो धापमा फसेछ । भोक, प्यासले थकित त्यो राक्षसलाई मानिसहरुले देखेर ढुँगा मूडा गर्दै मारिदिएछन् । धेरै दिन सम्म त्यसको सिनोले टोल गल्ली गन्हाउने भएपछि लास झिकेर बिसर्जन गरिदिएछन्, यसैको सम्झनास्वरुप खुसियालीमा घण्टाकर्ण पर्व मान्न थालिएछ । हिजो आज पनि यस दिन बाटो, चौबाटोमा केटाकेटीहरु समेत हरियो नर्कट, निगालो, भए गहुँको छ्वाली मिसाएर ३ खुट्टाको राक्षस बनाएर उभ्याइ राख्ने र हिँड्ने यात्रु, सवारी साधनहरुबाट केही भए पनि दिनूस् भन्दै माग्ने गर्छन् । त्यो घण्टासुरलाई दमन गर्न पैसा मागेर हैरान पनि पार्छन् । यतिसम्म कि घण्टाकर्णको काज किरिया गर्न खर्चको जोहो गर्नु पर्छ भन्न पनि पछि पर्दैनन् । काठमाडौँका किसानहरु त रातमा पुतलाको मुखमा आगो लगाउने गर्थे रे, पहिलेको जस्तो परम्परा धान्ने चलन अहिले खासै छैन । टँुडी भन्ने राक्षसलाई चौरभित्र हालेर पछि बाहिर आउन नदिने गरी घोडाको टापले थिच्ने अनौँठो चलन टुँडिखेलमा अहिलेसम्म घोडेजात्राको प्रथा भएकाले यी तथ्यमा विश्वास गर्ने आधार छन्, काठमाडौँमै घोडेजात्राको अघिल्लो दिन शिवजीलाई लुकुमाद्यौ भनेर रछानमा बसेका रुद्रलाई लुकेर बसेका देवता भन्दै पूजा गर्ने चलन छ, पिशाच चतुर्दशीका दिन !
विस्तृतिः एक पटक पार्वती रिसाउँदा ‘हेर बूढा तिमीले मासु, रक्सी पनि खाने दिन आउँला नि’ भनेर सरापेकीले महादेवलाई वर्षमा एक दिन यस्तो हुनु परेको हो । रुद्रयामल तन्त्र हेर्दा यस बारे थप चर्चा भएको पाइन्छ । देव भूमि, स्वर्ग भूमि, तपोभूमि सात्विक भूमि, वेद भूमि नेपालको खेदो खन्ने विधर्मीहरु पहिले पनि थिए । देशलाई रसातल पुर्याउँन तल्लीन ती विधर्मीहरुले गठेमँगल नामको राक्षसको रुप लिएर आतँक मच्चाउँन थालेछन् पहिले । उसलाई सिध्याउँन कसैले नसक्ता एक जना तान्त्रिक गुरुले भ्यागुतोको रुपमा आपूmलाई प्रस्तुत गर्दै श्रावण कृष्ण चतुर्दशीका दिन त्यसलाई यमलोक पुर्याइदिएछन् । यसैको खुसियालीमा यो उत्सव मनाउन थालिएको हो ।
अब पुराणकै चर्चा गरौँ, पुरानो सबै कुरा खराव हुन्न तर हामीलाई श्रीखण्ड र खुर्पाको बीँड छुट्याउनै आउँदैन । शिव पुराणमा प्रवेश गर्दा कीर्तिमुख गणका प्रमुख घण्टाकर्णलाई श्रीशिव पुत्र मानिएको छ, मोटो शरिर सधैँ बाबुलाई ‘भोक लाग्यो’ भन्दा श्रीशिव रिसाई ‘आप्mनै मासु खा’ भनिदिँदा घण्टाकर्णले आप्mनै मासु खाँदा टाउको बाहेक सबै खाइसकेछ । आप्mनो आदेशलाई निर्धक्क पालना गरेको देखेर खुसी भई शिवले ‘मेरोभन्दा उचो ठाउँमा तेरो बास होस्, मेरो भन्दा अगाडि नै पूजा होस्’ भन्ने वरदान दिएपछि अहिलेसम्म शिव पूजा गर्नुअघि भैरवको पूजा गरिन्छ । पशुपतिनाथमा हरेक पूर्णिममा भोग लगाउनु पूर्व दक्षिणतिर रहेका कीर्तिभैरवलाई पन्चबलि दिइन्छ । भारतमा स्वामी विवेकानन्दको शालिक नजिकै समुद्रतटमा रहेको कन्याकुमारी मन्दिर एवं तिरुपति बालाजीमा श्रीशिवपूजन गर्नु अघि भैरवलाई पूजा गर्ने चलन छ । गोपालराज बंशावली हेर्दा गठेमंगललाई सत्व, रज र तम अर्थात् ३ गुणले युक्त भैरब भनी चर्चा भएको पाइन्छ । घण्टाकर्ण श्रीशिवकै प्रतिक हो, उनलाई नाट्येश्वर पनि भनिन्छ, अद्र्ध नारीश्वर पनि भनिने हुँदा नर्कटको गठेमंगल बनाउँदा एकातिर पुरुष र अर्को तिर स्त्री आकारको चित्र बनाइन्छ । पशुपतिनाथले आपूmले महाभोग लिनु अघि मासु मन पर्ने भैरवलाई ‘मासुको भोग दिनू’ भनिएअनुसार यसो गरिएको हो । भैरवको उन्मत्त रुप पनि श्रीशिवकै रौद्र रुप हो । पशुपतिनाथकै दक्षिण परिसरमा उन्मत्त भैरवको मूर्ति नाँगो रुपमा देखिन्छ । घण्टाकर्ण श्रीशिवकै प्रतिक हो, उनलाई नाट्येश्वर पनि भनिन्छ, हाम्रो नुवाकोटमा नाट्येश्वर र नाट्श्वरीको मन्दिर छ, तादी नदी, कपिलावेसी माथि । जीवनमा कान्ति चाहनेले खासगरी नव दम्पतिले घण्टाकर्णको दर्शन गरे इच्छा सिद्धि हुन्छ भनिए अनुसार घण्टाकर्णको दर्शन गर्ने र नसके उन्मत्त भैरवको दर्शन, पूजा गर्ने चलन छ । यसो गर्दा रोग र शत्रु भय नहुने विश्वास छ । काठमाडौँको हनुमान ढोकामा काल भैरवको विशाल मूर्ति छ भने टुँडिखेल पसिरमै महाकाल रुप मन्दिर सहित महाँकालस्थान रहेको छ । त्यस्तै इन्द्रचोकको आकाश भैरव, ज्ञानेश्वरको आनन्द भैरव, ल पु लगनखेलका बटुक भैरव, पाल्पा तानसेन डाँडामा रहेका रोठ खाने भैरव देशका प्रसिद्ध भैरवहरु हुन् जहाँ भक्तहरुले हरेक दिनजसो दर्शन पूजा गर्ने गर्छन् ।