अच्युतप्रसाद पौडेल ‘चिन्तन’
श्रावणमास चलिरहेको छ, यो श्रीशिवको प्यारो महिना हो । यस आलेखमा कुशेश्वर शिवको चर्चा गर्ने प्रयत्न गरिएको छ ।
सहश्राणी तथांशैश्च तिस्रःकोट्योऽर्धकोटिभिः । चतुःषष्टि च लिङ्गानि क्षेत्रेऽस्मिन्सन्ति मे सदा । (स्कन्द पुराण, हि ने, ८९ श्लो. ३५ )
नेमुनि भन्नुहुन्छः हे विरुपाक्ष ब्राह्मण ! नेपालको पावन भूमिमा साँढे तीन करोड बढी तीर्थहरु छन् तीमध्ये श्रेष्ठ तीर्थहरुका रुपमा ६४ ज्योतिर्लिङ्गहरु छन् । सबैका आआप्ना महत्व र माहात्म्य छन् । यी तीर्थहरुमा पहिले स्नान गरी भष्म लेपन गरी रुद्राक्ष माला धारण गरी शिवजीको पूजा, दर्शन, प्रार्थना, रुद्राभिषेक गर्नाले सबै पापबाट मुक्त मिल्छ र अक्षय्य पुण्य प्राप्त हुन्छ ।
कुमारजी आज्ञा गर्नुहुन्छः प्राचीनकालमा भातवर्षमा अन्तरवेदी नगरमा विरुपाक्ष नामका एक ब्रह्मण बस्थे, ती अनाचारी थिए । अनेक प्रकारका कुकर्म गर्ने, भक्षाभक्ष विचार नगर्ने, मद्यमांसको विचार नगर्ने, कुलतमा फसेका र मातृगमनको समेत दोष लागेका थिए उनी । गाउँ, नगरबाट निकालिएका उनले आप्mनो रोग निवारण र पापमोचनको प्रयासस्वरुप गंगाका किनार भई कौशिकी गंगा खोज्दै उत्तरतिर आए । धेरै दिनको कष्टपूर्ण यात्रापछि ती दुर्गा तीर्थमा आएर नेमुनिलाई भेटे, दर्शन गरे । ने मुनिलाई दण्डवत् प्रणाम गरे, आप्mना सबै कुकृत्य पनि सुनाए । तपस्वी मुनिले उनको दुरावस्था देखेर दया लागी त्यसबाट मुक्ति दिलाउने प्रण गरे, ६४ ज्योतिर्लिङ्गहरुको दर्शन गराई पापमोचन गराउने संकल्प लिए । नेमुनिले विरुपाक्षलाई लिएर शिवलिङ्ग दर्शन गराउने क्रममा पहिलो ज्योतिर्लिङ्ग हालको सिन्धुली जिल्लाको दुम्जाक्षेत्र कुशेश्वर पुगे ।
यो तीर्थ चित्रकुट पर्वतसंगै कौशिकी र रोसी नदीका बीच रहेको छ । परापूर्वकालमा ब्रह्माजीले सृष्टि गर्ने इच्छाले शिवजीको तप गर्दा शिवले कुशको टुप्पोजस्तो सानो ज्योतिरुप दर्शन दिनुभयो । ब्रह्माजीले त्यसलाई कुशेश्वर नामकरण गरी स्तुति पुकार गर्दा शिवजी खुसी भई तपाइँको सृष्टि गर्ने इच्छा र सामथ्र्य पूरा होस् भन्ने आज्ञा दिँदै अन्तध्र्यान हुनुभयो । ब्रह्माले त्यो शक्ति पाएर संसारमा ४ प्रकारको अण्डज, श्वेदज, उदभिज र जरायुज चार प्रकारका प्राणी सृष्टि गर्नुभयो ।
सृष्टिका क्रममा दानव शुम्भ र निशुम्भ देखा परी ब्रह्मा सामु कडा तप गर्दै खुसी पारेर अमरत्वको वरदान मागे । अमरत्वको वरदान दिन नसक्नेभन्दा पुरुषबाट मृत्यु नहुने र स्त्रीबाट मात्रै मृत्युको वरदान पाएपछि ती पाताल गएर दानवी सेना जम्मा गरी स्वर्गका देवताहरुलाई हुँकार गर्न थाले । वलवान् तिनले सबैलोक जिते पनि, स्वर्ग, मत्र्य, पातालकै राजा भए । हारेका देवताहरु भने कौशिकी र रोसी नदी संगम आई देवीको नवार्णव वीजमन्त्र जप्दै माता दुर्गाको तप गर्न थाले । दुर्गा खुसीभएर दानवहरुसंग संग्राम गरी दैत्य नाश गरेकाले देवताहरुले राज्य फिर्ता पाएकाले त्यो स्थान दुर्गा तीर्थ रह्यो र त्यहाँ दुर्गाको दर्शन गर्नाले अभेद्य फल प्राप्त हुने, धन, पुत्रादि प्रापत भई पापमोचन समेत हुनेछ ।
एक दिन कुशेश्वर शिवलिङ्गमा चढाइएका फल प्रसादी लिन यच्छुक भई भ्रष्ट नामक पापी ब्राह्मण घुम्दै त्यहीँ पुगेछ र फल, नैवेद्य झिक्दा शिवलिङ्ग स्पर्श भएकाले भ्रष्ट ब्राह्मणको पापमोचन भएछ र मृत्युपछि परमेश्वरको धाम पुगेछ । यो कथा सुनेका कुष्ठरोगी विरुपाक्षले माघकृष्ण चतुर्दशीका दिन व्रत बसी रात्रिमा दीप प्रज्ज्वलन गर्दै शिवनाम संकीर्तन गरेर जाग्राम बसी व्रत पूरा गरेका हुन् ।
कुशेश्वर शिवलिङ्ग काठमाडौँ उपत्यकादेखि पूर्व सिन्धुली दुम्जामा छ । गुम्बज शैलिको मन्दिर छ, मन्दिर छानामा चार सुर र माझमा सुनका गजुरहरु छन् । एक तले यो मन्दिर चारैतिर ढोकाहरु छन्, मूल ढोका दक्षिण फर्केको छ, मन्दिर भित्र तामाको अर्घपात्रको बीचमा २ फिट अग्लो, कालो वर्णको शिवलिङ्ग छ, नित्य पूजा र आरती हुन्छ त्यहाँ । पूर्वमा तुलसी मोठ, धर्मशाला, ढोका बाहिर घण्टाहरु, पश्चिमतिर पार्वतीस्तम्भ, सरस्वती मन्दिर,पाटी, पिपल अनेक वृक्षहरु छन् नदीपारि विश्वामित्र गुफा छ, दक्षिणमा लीलावती अर्थात् रोसी र पूर्वमा कौशिकी भनौँ कोसी नदीको संगममा पितृतीर्थ, दुर्गातीर्थ, मार्कण्डेय तीर्थहरु छन् । पौष शुक्ल पूर्णिमामा विशेष र बालाचतुर्दशी, शिवरात्रि, तीजमा मेला लाग्छ ।
वि सं २०८१ आश्विनको रोसीमा आएको बाढीले सो मन्दिर परिसरलाई ठूलो क्षति गरेको छ ।
पूरै देश धर्म भूमि हो ।महाभारतको लेक, रारा, फेवा, सिवालिक जस्ता ऐतिहासिक धरोहर हरु छन्, गण्डकी, कोशी, कर्णाली, सुनकोशी, त्रिशूली, महाकालीजस्ता अति पवित्र नदीहरूपनि । स्वर्गबाट झरेका, शिवजटाबाट बगेका पावन नदीनालाहरूले तमाम भूभागलाई पवित्र पार्दै भारतको गङ्गासागरसम्म पुगेका छन् । धनकुटा, काठमाडाँैं, पोखरा, सुर्खेत र दिपायलले नपालको भुवनोटलाई हराभरा वनाएका छन् । सिन्धुलीको सभ्यतादेखि रुम्जाटार, बेलटार, मङ्गलटार, पाँचखाल हुंँदै पश्चिम रेसुङ्गादेखि रुरुसम्मको क्षेत्र र पवित्र आर्यघाटदेखि देवघाटसम्मको क्षेत्र प्रवेश गर्दासम्म पनि स्वर्णीम आनन्दको अनुभूति हुन्छ । जनकपुरको जानकीक्षेत्रदेखि नवलपरासीको त्रिेवेणीक्षेत्र र डँडलधुराकी उग्रतारादेखि डोटीकी शैलेश्वरीसम्मले यो भू–भागलाई तीव्रतर देवभूमि बनाएको छ । अधिराज्यको दुई तिहाई भू–भाग ओगटेको पहाडीक्षेत्रका ३९ वटा जिल्लाहरू रहेका छन् भने पूर्वमा माईपोखरीदेखि पश्चिममा ब्रह्मदेव क्षेत्रसम्म पवित्र छ । सबै जातजातिमा समन्वय छ । विष्णुको नवौंँ अवतार बुद्धको जन्मभूमि नेपाल हो । अहिंसा परमो धर्म नेपालको शान्ति, मैत्री र अहिंसा विश्वको लागि उदाहरण हो । वैदिक सनातन धर्मका स्रष्टा विश्व, साहित्यका वेदव्यास, महर्षि वाल्मीकिको तपस्थली हो यो । त्रेताका सूर्यवंशी राम पितृउद्धार हेतु यहाँको डोटीमा आए, सीताको नामले सेती नदी बग्दैछ ।




















