१७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।
१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सभापतिसहितको भेटमा एउटा सहमति बनेपछि राजीनामा दिन लामा तयार भएको अनलाइनखबरलाई जानकारी दिए ।
मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको चित्रकारले बताए ।
लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।
उनीहरूको गत बुधबार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा शपथ ग्रहण रोकिएको थियो । त्यसको भोलीपल्ट बिहीबार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि सपथ हुन सकेको थिएन ।
उपनेता चित्रकारले काठमाडौंमा उपचार गराईरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौंठा नफर्किए पनि कार्यालयमा दर्ता गरिने जानकारी दिए ।
मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट पराजित भएपनि सरकारको नेतृत्व छाड्नुपर्ने कुनै आधार नरहेको बताउँदै आएका थिए ।




















