आजदेखि चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदैछन् । यी भिन्न विधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको छ । एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्र ‘माग्ने राजा’ मा ‘माग्ने बुढा’ को उपनामले चिनिएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा छन् । आफूलाई नै हेरेर लेखेकले पात्र र चलचित्रको कथा तयार गरेको लागेपछि चलचित्रमा काम गरेको कलाकार घिमिरेले बताए ।
उनले भने, “यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ ।”
उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायत कलाकारले अभिनय गरेको छ । मुनाल घिमिरेले निर्माण गर्नुभएको उक्त चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले छायाङ्कन र सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेको छ ।
आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘ताराहरू’ किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र हो । दश दशकभन्दा बढी समयदेखि रङ्गकर्मीका रुपमा चिनिनुभएका आशान्त शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रमा मृत्यु कल्पेर हिँडेको युवकले एक अधवैँसे महिला भेटेपछि उहाँको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ ।
रङ्गमञ्चमा मात्र देखाइरहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले चलचित्रमा रुपान्तरण गर्नुभएको जानकारी दिए । “नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो । केहीले ‘युट्युब’मा राख्नसमेत सुझाए, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन । नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो”, शर्माले भने, “त्यसै कारण ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएको हुँ ।”
रङ्गमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुन: चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनी बताउछन् । उक्त चलचित्रमा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारले अभिनय गरेको छ ।
आजदेखि नै प्रदर्शन भएको तेस्रो चलचित्र ‘जनै हराएको मान्छे:सम्बन्धका धागाहरू’ अभिनेता विजय बरालका कारण चर्चामा छ । उनले यसअगाडि मुख्य भूमिका निर्वाह गर्नुभएको ‘पूर्णबहादुरको सारङ्गी’ ले पाएको सफलताका कारण यसपटक यो चलचित्र दर्शकसँगै चलचित्रकर्मीका लागि प्रतिक्षित छ । चलचित्र अभिनेता बरालमै केन्द्रित छ । अभिनेता बरालले आफ्नो बुबाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रलाई पर्दामा बाँचेको बताए ।
हिमाल न्यौपानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय गरेको छ । चलचित्रमा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको हो ।




















