चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्कीलाई

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् ।

भेटमा छिमेकी देश भएको नाताले नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार रहेको धारणा राख्दै राजदूत सोङले नेपाली जनताले गरेको आन्दोलनलाई स्वागत गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्कीले पनि नेपाल चीनसँग सहकार्य गर्न तयार रहेको र यो बेलामा आवश्यक सहयोगको अपेक्षा गरेको धारणा राखेकी छन् ।

भेटपछि सङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई दिन तथा सहयोगको प्रतिबद्धता व्यक्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। हामीले आपसी विचार आदानप्रदान गर्‍यौँ र हाम्रो मित्रता तथा सहकार्यलाई थप प्रबर्द्धन गर्न सहमत भयौँ।’

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए ।