विश्व इतिहासमा यस्ता कयन घटनाहरु छन् जसले संसारको राजनीति उथलपुथल गरेको छ । राजनीतिमा कुटनीति र कुटनैतिक राजनीति शासन, सरकार र सत्ता संचालन र परिवर्तनमा अहम हुन्छ । जर्मन चान्सलर विष्मार्कले विछाएको कुटनीतिको जालो उनको पतनपछि राजा भिक्टर एम्यानुयले बुझ्न सकेनन् फलस्वरुप जर्मन विनाशको बाटोमा लाग्यो । प्रथम विश्वयुद्ध भयो र विश्वयुद्धमा जर्मनीको हार भयो । यो त भयो इतिहासको प्रसङ्ग वर्तमानकै घटना हेर्ने हो भने पनि युक्रेनमा एक सिने कलाकार आफ्नो हास्य प्रस्तुतिबाट युक्रेनी जनता माझ लोकप्रिय बने । उनलाई राजनीतिको नशा लाग्यो, राजनीतिमा होमिए, अप्रत्याशित वहुमतका साथ राष्ट्रपति बने । कला उनको पेशा थियो, कलाकारिता उनको धर्म, उनी आफ्नो पेशा र धर्ममा अब्बल थिए तर राजनीति उनको लागि नयाँ थियो, कुटनैतिक अनुभव अत्यन्त कमजोर थियो । सामरिक महत्वको युक्रेनमा कुटनैतिक मर्यादा र राजनैतिक कौशल देखाउन सक्ने एक योग्य शासकको आवश्यकता भएको बखत एक हास्यकलाकार कुटनीतिमा प्रवेश गरे । राजनीतिको मैदान र कुटनीतिको खेललाई पनि उनले टेलिभिनजको रंगमञ्ज देखे, उनको अपरिपक्कताले आज युक्रेन ३ वर्षदेखि युद्धभूमिमा परिणत भएको छ । एक क्षेत्रको लोकप्रियता सबै क्षेत्रमा उत्तिकै सफल हुन्छ भन्ने दृष्टिकोण बाट भएको जेलेन्स्कीको प्रवेशले आज युक्रेन आक्रान्त छ । लोकप्रियतावाद र स्टन्ट सधैं, सबै क्षेत्रमा सफल हुँदैन भन्ने सन्देश युक्रेनले दिएको छ ।
हाम्रो देश भू–राजनीतिक दृष्टिले लगभग युक्रेनकै समान देखिन्छ।
नेपालको राजनीति लामो समयदेखि अस्थिरताको चक्रमा फसेको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि राजतन्त्रको अन्त्य, बहुदलको पुन:स्थापना, माओवादी युद्ध, गणतन्त्र घोषणा र संघीय लोकतान्त्रिक प्रणालीको अभ्याससम्म आइपुग्दा देशले धेरै ठूलो रूपान्तरण देखिसकेको छ। तर यति धेरै राजनीतिक परिवर्तनपछि पनि मुलुक अझै स्थायित्व, पारदर्शिता र जनउत्तरदायित्व कमजोर बनेको छ। यसैले हालको राजनीति प्राय: एनजीओको जालमा अड्किएको भनी विश्लेषण गरिन्छ।
लोकतान्त्रिक राजनीतिमा दलहरूको मूल जिम्मेवारी जनताको आकांक्षा पूरा गर्नु हो। तर नेपालका दलहरूले चुनावको समयमा मात्रै जनतामुखी घोषणा गर्ने गरेका छन्। सत्तामा पुगेपछि भने ती घोषणाहरूलाई कार्यान्वयन गर्नेदेखि जनता प्रतिको प्रत्यक्ष जवाफदेहितासम्म दुर्लब हुन्छ। यो स्थिति युक्रेनसँग मिल्छ ।
विदेशी प्रभाव र निर्भरताले नेपालको राजनीति वर्षौँदेखि विदेशी शक्तिको प्रभावमा रहेको छ। ठूला नीतिगत निर्णय, आर्थिक रणनीति वा संवैधानिक मुद्दामा समेत अन्तर्राष्ट्रिय दबाब वा सहयोग निर्णायक बन्दै गएको छ। यसलाई कतिपयले एनजीओहरूको ‘अनुदान–निर्भरता’सँग तुलना गर्छन्। जसरी एनजीओहरूले विदेशी दाताको सहयोगबिना चल्न सक्दैनन्, त्यसरी नै नेपालका दलहरूले पनि अन्तर्राष्ट्रिय शक्ति वा छिमेकीको सल्लाहबिना ठूला निर्णय गर्न सक्दैनन् भन्ने धारणा बलियो छ।
प्रोजेक्ट–मोडको राजनीतिले एनजीओहरूले प्रोजेक्ट पाउँदा मात्र सक्रिय हुने प्रवृत्ति देखाउँछन्। नेपालका दलहरू पनि चुनाव आउँदा मात्र वाचा, घोषणापत्र र कार्यक्रम ल्याउँछन्। चुनाव सकिएपछि जनतालाई बिर्सने प्रवृत्ति सामान्य भइसकेको छ। यसरी राजनीतिमा पनि प्रोजेक्ट–मोडल सोच हावी भएको छ, जसले दीर्घकालीन नीति र योजनामा अवरोध सिर्जना गरेको छ।
संस्थागत कमजोरीले राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ । नेतामुखी संरचना, पारदर्शिताको कमी, गुटबन्दी र नेतृत्व हस्तान्तरणमा अस्वस्थ प्रतिस्पर्धाले संस्थागत स्थायित्व कमजोर बनाएको छ। यो स्थिति पनि एनजीओको अस्थिर संरचना र दीर्घकालीन योजनाको कमीलाई सम्झाउँछ।
स्वार्थ र व्यक्तिगत लाभले एनजीओहरूलाई कतिपयले सेवाभन्दा प्रोजेक्ट रकम वा व्यक्तिगत फाइदामा बढी केन्द्रित भएको भनेर आलोचना गर्छन्। नेपाली राजनीति पनि त्यस्तै बनेको छ—पद, सत्ता र व्यक्तिगत स्वार्थलाई जनसेवाभन्दा माथि राख्ने प्रवृत्तिले जनविश्वास कमजोर पारेको छ। यसले राजनीति ‘जनताको सेवा’ भन्दा पनि ‘स्वार्थको खेल’ जस्तो देखिएको छ।
प्रदर्शनमुखी संस्कार एनजीओहरूले प्राय: कार्यशाला, तालिम वा कार्यक्रम गरेर उपलब्धि देखाउने गर्छन्। नेपाली दलहरू पनि भाषण, र्याली र घोषणामार्फत गतिविधि प्रदर्शनमा रमाउँछन्। तर ठोस नतिजा ल्याउने काम भने नगण्य हुन्छ। नेपालको राजनीति आज अस्थिरता, निर्भरता, प्रोजेक्ट–मोड साेंच, संस्थागत कमजोरी र स्वार्थमुखी प्रवृत्तिले ग्रस्त छ। यही कारण यसलाई एनजीओ–शैलीको राजनीति भनिन्छ। जबसम्म दलहरूले जनतालाई प्राथमिकतामा राख्दैनन् र बाह्य प्रभावभन्दा माथि उठ्दैनन्, तबसम्म नेपाली राजनीति एनजीओ–शैलीको जालमै फसिरहनेछ।
नेपालको राजनीतिमा पनि पर्दाका हास्यकलाकार लोकप्रियता र स्टन्टको सहारा लिई देखा पर्दैछन् /परेका छन् । लोकप्रियतावाद आफैँमा नराम्रो होइन तर जब यसमा स्टन्ट मिसिन्छ त्यसले अराजकता जन्माउँछ । भू–राजनीतिक दृष्टिले संवेदनशिल हाम्रो जस्तो देशमा सौभ्य, शालिन कुटनितिको आवश्यकता छ कि स्टन्टको ? यदि स्टन्ट र लोकप्रियतावादलाई नै वास्तविकता भन्ने हो भने नेपाल जेलेन्स्कीको हातमा जानवेर लाग्दैन र देश युक्रेन बन्नेवेर लाग्दैंन ।





















