नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उनले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राखे ।
उनले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा जोड दिए । “जेनजी पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज छन्”, उनले भने, “हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ ।”
केन्द्रीय सदस्य पौडेलले पार्टीले पुस्तान्तरण र रुपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको छ । उनले युवा सहभागिता वृद्धिका लागि डिजी युथ कंग्रेस गठनको अवधारणा प्रस्तुत गरेको हो । “यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम गर्नेछ”, उनले भने । पौडेलले वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनोटको प्रस्ताव गरेको छ ।
पौडेलले विभिन्न देशमा भएका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै जेनजी आन्दोलनबाट सबैभन्दा बढी लाभ नेपाली कांग्रेसले लिनसक्ने धारणा राखे । यसका लागि कांग्रेसले कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नुपर्नेमा उनको जोड थियो । नेता पौडेलले युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको पनि माग गरे ।
विद्यमान सङ्कटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति भएको आक्रमणको निन्दा गरे । उनले सभापतिद्वारा पार्टी बैठकमा असोज २८ गते पेस गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्नेसमेत बताए ।
पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका पौडेलले आफूले मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बिमामा सुविधा वृद्धि र विपन्न वर्गलाई राहतको सीमा बढाएर सुधार थलेको भन्दै बताए । यसलाई पार्टीले आधिकारिक नीतिका रुपमा अघि बढाए स्वास्थ्यमा समाजवाद ल्याउन सकिने उनको तर्क थियो ।

















