प्रचण्डद्वारा झलनाथ खनाल र धनश्याम भुसालसँग वाम एकता विषयक छलफल

पार्टी एकता प्रक्रियामा देखिएको असहमति समाधानका लागि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसाललाई निवासमै बोलाएर वाम एकता सम्बन्धी छलफल गरेका हुन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार खनाल र भुसाल दुबैजना आज बिहान प्रचण्ड निवास पुगेर छलफलमा सहभागी भएका थिए ।

हालै अध्यक्ष माधवकुमार नेपालले माओवादीसहित नौ वामपन्थी दलसँग पार्टी एकताको घोषणा गर्ने तयारी गरेपछि खनाल र भुसाल असन्तुष्ट बनेका थिए । उनीहरू बेग्लै राजनीतिक अभियान सञ्चालन गर्ने तयारीमा रहेका बेला प्रचण्डले उनीहरूलाई मनाउने प्रयासस्वरूप भेट गरेका हुन् ।

प्रचण्डले दुवै नेतालाई वाम एकताको पक्षमा उभिन आग्रह गरेका छन्। यसैबीच, आज दिउँसो १ बजे नौ वाम दलबीच पार्टी एकता औपचारिक रूपमा घोषणा गरिने तयारी गरिएको छ।