गृहमन्त्रीलाई सुदनले भने– जेन–जीका माग सम्बोधन हुँदैन भने दुई दिनभित्र राजीनामा दिनुहोस्

जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । गुरुङले गृहमन्त्री अर्याललाई जेन–जीको मागअनुसार भ्रष्टाचार गर्नेलाई कारबाही नगरेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन भनेका छन् ।

सामाजिक सञ्जालमा गुरुङले भनेका छन्– ‘देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो । सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’

वर्तमान सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत कुनै पनि भ्रष्ट र हत्यारालाई कारबाही नभएको उनको आरोप छ । उनले थप भनेका छन्– ‘अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् । एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईँबाट आशा मरिसकेको छ।’