skip this वडा नं १६ बालाजु च:मती

जेन–जी अगुवालाई बाबुरामको सुझाव– सरकारसँग तुरुन्तै लिखित सम्झौता गर्नुस्

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी अगुवाहरूलाई सरकारसँग तुरुन्तै लिखित सम्झौता गर्न सुझाव दिएका छन् । जेन–जी अगुवाहरूसँगको अन्तरसंवादमा बोल्दै उनले आन्दोलनलाई अपराधीकरण हुनबाट जोगाउन लिखित सम्झौताको आवश्यकता रहेको औंल्याएका हुन् ।

‘तपाईंहरूको जिम्मेवारी र दायित्व भनेको जेन–जी आन्दोलनलाई संस्थागत गर्नेतर्फ हो,’ भट्टराईले भने, ‘आजसम्म एउटा पनि लिखित सम्झौता छैन । आन्दोलनको वैधताका लागि लिखित दस्तावेज चाहिन्छ । प्रधानमन्त्रीलाई गएर भेट्नुस्, चाँडो हाम्रा मागहरूको लिखित दस्तावेज बनाउन र राजपत्रमा प्रकाशन गर्न आग्रह गर्नुस् ।’ उनले आन्दोलनका उपलब्धिहरूलाई दस्तावेजीकरण नगरे हालका आन्दोलनकारीहरूलाई अपराधीको रूपमा व्यवहार गर्न सकिने चेतावनी दिँदै चनाखो बन्न सुझाव दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पुराना दलहरूले जुनसुकै बेला चालबाजी गर्न सक्ने भएकाले प्राप्त उपलब्धि जोगाउन सतर्क रहन आग्रह गरे । उनले जेन–जी अगुवाहरूलाई वैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्न पनि सुझाव दिए ।

भट्टराईले ठूला भनिएका दलहरू चुनाव हुन नदिने रणनीतिमा लागेको आरोपसमेत लगाए । ‘तपाईंहरूको आन्दोलनले गिलास आधा भरिएको छ,’ उनले भने, ‘चुनाव नभए फेरि त्यो गिलास घोप्टिन्छ । तपाईंहरूले आशाको गिलास थप्ने आन्दोलन गर्दै हुनुहुन्छ, तर दलहरूले गिलास घोप्ट्याउन खोज्दै छन् । दलहरूले भुलाउँछन्– हात्ती आयो, हात्ती आयो, फुस्सा हुन्छ ।’

उनका अनुसार देशमा आन्दोलनले परिवर्तन ल्याउने प्रयास गरिरहेको भए पनि अड्डा–अदालत, सुरक्षा निकाय र कर्मचारी तन्त्र यथावत् रहेकाले आशातीत प्रगति हुन समय लाग्नेछ । ‘चनाखो भएर यो उपलब्धि रक्षा गर्नुपर्छ । अब संविधानमाथिको अपनत्व कायम गरेर अघि बढ्नुपर्छ,’ भट्टराईले भने ।

त्यस क्रममा उनले विदेशमा रहेका नेपाली नागरिकलाई समेत भोट हाल्ने कानुन बनाउन र भोट हाल्ने उमेरमै उम्मेदवार बन्न पाउने कानुनी बाटो खोल्नका लागि संघर्ष गर्न आग्रह गरे ।