नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर-१ नजिक सोमबार साँझ गुडिरहेको एक कारमा शक्तिशाली विस्फोट भएको छ। साँझ ६:५२ बजे भएको यस विस्फोटमा दुई महिलासहित नौ जनाको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ । घटनामा २४ जना घाइते भएका छन्।
मंगलबार विस्फोट हुनुभन्दा ठिक अघिको सिसिटिभी फुटेज सार्वजनिक भएको छ, जसमा एउटा सेतो रङ्गको आई-२० कार पार्किङबाट बाहिर निस्किरहेको देखिन्छ। यो कारमा डा. मोहम्मद उमर रहेको आशङ्का गरिएको समाचारमा उल्लेख छ।
प्रहरीका अनुसार उमर फरीदाबाद मोड्युलको सदस्य हुन सक्छन्। केही समयअघि जम्मु-कस्मिर प्रहरीले हरियाणाको फरिदाबाददेखि लखनउसम्म अभियान चलाएर २ हजार ९०० किलोग्राम विस्फोटक पदार्थ (सन्दिग्ध अमोनियम नाइट्रेट) जफत गरेको थियो। सो कारबाहीमा फरिदाबादबाट डाक्टर मुजम्मिल शकिल र लखनऊबाट महिला डाक्टर शाहीन शाहिदलाई पक्राउ गरिएको थियो।
दिल्ली प्रहरीको स्पेसल सेलका स्रोतहरूका अनुसार, डा. उमर पार्किङमा रहेको आई-२० कारमा झन्डै साढे दुईदेखि तीन घण्टासम्म बसिरहेका थिए। उनी एक पटक पनि कारबाट बाहिर निस्किएनन्। प्रहरी स्रोतका अनुसार, डा. उमर या त कसैको प्रतीक्षा गरिरहेका थिए वा पार्किङमा कुनै निर्देशनको पर्खाइमा थिए।
दिल्ली प्रहरीले लाल किल्ला नजिक भएको विस्फोटको सम्बन्धमा ‘गैरकानुनी गतिविधि रोकथाम ऐन’ (यूएपीए) अन्तर्गत एफआईआर दर्ता गरेको छ। सुरक्षा एजेन्सीहरूले आत्मघाती आक्रमणको कोणबाट पनि अनुसन्धान सुरु गरेका छन्। यद्यपि, घटनास्थलबाट आरडीएक्सको कुनै प्रमाण भेटिएको छैन।



















