रोब्लक्समा बालबालिकालाई अपरिचित वयस्कसँग कुराकानी गर्न निषेध

विश्वको लोकप्रिय गेमिङ प्लेटफर्महरू मध्ये एक रोब्लक्समा बालबालिकाहरूले अब अपरिचित वयस्कहरूसँग कुराकानी गर्न पाउने छैनन् । गेमिङ प्लेटफर्मको सुरक्षाका उपायहरूलाई विस्तार गर्दै रोब्लक्सले यो कदम चालेको हो ।

च्याट फिचर प्रयोग गर्ने खाताका लागि अनिवार्य उमेर जाँचहरू शुरु गरिनेछ । पहिलो चरणमा डिसेम्बरमा अस्ट्रेलिया, न्यूजील्याण्ड र नेदरल्याण्ड्समा यो व्यवस्था लागू हुनेछ । जनवरीदेखि भने विश्वका बाँकी भागमा समेत यसलाई लागू गरिनेछ । बालबालिकाहरूलाई अनुपयुक्त सामग्री पहुँच दिएको र वयस्कहरूसँग कुराकानी गर्न अनुमति दिएको भन्दै रोब्लक्सले निकै आलोचना खेपिरहेको समयमा यो निर्णय आएको हो ।

अमेरिकाका कयौं राज्यहरूमा त बाल सुरक्षा चिन्ताका कारण कम्पनी माथि मुद्दा नै चलाइएको छ । अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागू हुनै लाग्दा कम्पनीले यस दिशामा कदम चालेको छ ।

मार्चमा रोब्लक्सका प्रमुख कार्यकारी रोब्लक्स डेभ बास्जुकीले चिन्तित मातापिताले आफ्ना सन्तानलाई यसमा बस्नै दिनु हुँदैन भनेर भनेका थिए । कम्पनीको पछिल्लो उपायले पनि बच्चाहरूलाई अनुपयुक्त सामग्रीको सामना गर्न सक्ने वा प्लेटफर्ममा वयस्कहरूसँग कुरा गर्ने हो कि भनेर केही अभिभावक र अभियन्ता चिन्तित छन् ।