नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन वैचारिक राजनीतिक हिसाबले विशेष किसिमको हुने बताएका छन् । सोमबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् । ‘यस पटकको महाधिवेशन बैचारिक, राजनीतिक र सांगठानिक हिसाबले विशेष किसिमको हुनेछ’, गुरुङले भने– ‘वर्तमान राजनीतिक पृष्ठभूमि र नयाँ नेतृत्वको हिसाबले पनि विशेष र महत्त्वपूर्ण हुनेछ ।’
उनले जनेजी आन्दोलनपछि एमालेले अङ्गालेको जनताको बहुदलीय जनवाद (जबज)माथि समेत कतिपयले प्रश्न उठाउने गरे पनि जबजको सान्दर्भिकता अझै बढ्दै गएको बताए । पछिल्लो परिस्थितिमा नेपालका कतिपय कम्युनिस्ट पार्टीहरू एकीकरणका नाममा वृद्धाश्रममा परिणत भएको अवस्थामा मुलुकको समग्र हित र विकासका लागि नेकपा एमालेको औचित्य र आवश्यकता थप बढ्दै गएको बताए ।
















