राष्ट्रीय स्वतन्त्र नागरिक समाज, नेपाल :स्थापना, आवश्यकता र नागरिक भूमिकाको ऐतिहासिक आग्रह

राष्ट्रको अस्तित्व, सम्मान र सार्वभौमिकता जोगाउन सर्वप्रथम जिम्मेवारी राज्यको भए पनि अन्तिम र निर्णयात्मक शक्ति भने सधैँ आम नागरिक नै हुन्। राष्ट्र ढल्छ भने सत्ता ढल्छ, मुलुकी संरचना ढल्छ, तर नागरिकको अस्तित्व र पहिचान नै अनाथ बन्छ। “राष्ट्र रहेन भने नागरिक कसको हुनेरु” भन्ने कठोर तर यथार्थ प्रश्नले आज प्रत्येक नेपाली मन–मस्तिष्कमा गम्भीर बहस उठाइरहेको छ। यही चेतना र राष्ट्रीय जिम्मेवारीको आधारमा राष्ट्रीय स्वतन्त्र नागरिक समाज, नेपाल को जन्म भएको छ।

किन आवश्यक पर्‍यो स्वतन्त्र नागरिक समाज?

नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक र भूराजनीतिक रूपमा संवेदनशील देशलाई बलियो बनाउने मूल आधार नागरिक एकता, राष्ट्रिय स्वाभिमान र जनसरोकार हो। तर समयसँगै विभिन्न राजनीतिक उतार–चढाव, स्वार्थ–संघर्ष, विभाजनकारी सोच र अधिकार–कर्तव्यबीचको असन्तुलनले आम नागरिकका आवाज थुप्रै ठाउँमा दबिएका छन्।

राजनीतिक दलहरूको आ–आफ्नै दिग्भ्रमित प्राथमिकताले कहिलेकाहीँ राष्ट्रको दीर्घकालीन हितभन्दा पार्टीगत स्वार्थ अग्रस्थानमा पुगेका उदाहरणहरू देखिन्छन्। यस्तो अवस्थामा निरपेक्ष रूपमा बोल्न सक्ने, सत्य आग्रह राख्न सक्ने र नागरिक मूल्य–मान्यतामा आधारित आवाज बुलन्द गर्न सक्ने स्वतन्त्र नागरिक प्लेटफर्म अपरिहार्य बन्छ।

राष्ट्र जोगाउने अन्तिम शक्तिस् आम नागरिक

राष्ट्र जोगाउन सेना, प्रशासन, राजनीति सबै महत्वपूर्ण भूमिका निभाउँछन्। तर इतिहास साक्षी छ—
राष्ट्र संकटमा पर्‍यो भने अन्तिम बचाउ शक्ति जागरूक नागरिक नै हुन्।

नागरिकको सचेत सहभागिता बिना
राष्ट्रिय एकता मजबुत हुँदैन,
लोकतन्त्र विकशित हुँदैन,
स्वाधीनता सुरक्षित हुँदैन,
विकास र सुशासन सम्भव हुँदैन।

यसैले, “देश हाम्रो प्राणभन्दा प्यारो” भन्ने दृढ भावनालाई संस्थागत स्वरूप दिनुपर्छ भन्ने निष्कर्षमा पुगेर राष्ट्रीय स्वतन्त्र नागरिक समाज, नेपाल को स्थापना गरिएको हो।

 आवाज–विहीनका लागि साझा मञ्च

नेपालमा अझै पनि थुप्रै नागरिक—ग्रामीण, तामझाम भन्दा बाहिर रहेका वर्ग, विपन्न, उत्पीडित, श्रमजीवी, युवा, महिला—जसको आवाज सत्तासम्म पुग्दैन। उनीहरूको समस्यालाई
सुन्ने,
बोल्ने,
उठाउने,
समाधानका लागि दबाब सिर्जना गर्ने,

साझा मञ्चको अभाव महसुस गरिएको थियो। यही खालीपन पूर्ति गर्दै “आवाज–विहीनको आवाज” बन्ने दृष्टिकोणसहित यो नागरिक समाज अगाडि बढेको छ।

उद्देश्यस् राष्ट्र, नागरिक र स्वतन्त्रताको संरक्षण
राष्ट्रीय स्वतन्त्र नागरिक समाज, नेपाल
राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र पहिचानको रक्षा,
नागरिक अधिकार तथा कर्तव्यको जागरण,
सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग,
विभाजन विरोधी, राष्ट्र बलियो बनाउने एकता अभियान,
सामाजिक न्याय र समान अवसरको सुनिश्चितता,

जस्ता मूल मूल्यमा आधारित नागरिक–केन्द्रित प्रयास हो। देशभक्त नागरिकले नै देश बचाउँछन्—यो इतिहासले दिएको प्रमाण हो। राजनीति चलाउनेहरू बदलिन्छन्, शासन प्रणाली बदलिन सक्छ, तर राष्ट्रको आत्मा नागरिकको चेतनासँगै बाँधिएको हुन्छ। यही बुझाइबाट प्रेरित भएर, नागरिकबाट नागरिककै लागि—राष्ट्रको लागि भन्ने मूल मन्त्रसहित राष्ट्रीय स्वतन्त्र नागरिक समाज, नेपाल ले आफ्नो अस्तित्व घोषणा गरेको छ।

हाम्रो उद्देश्य विभाजन होइन—एकता हो,विरोध होइन—सकारात्मक राष्ट्रनिर्माण हो र, शक्ति हरण होइन—नागरिक सशक्तिकरण हो।

यसैले, देशभक्त प्रत्येक नेपालीसम्म यो सन्देश पुगाोस् “राष्ट्र बचाउन, नागरिक उठ्नैपर्छ।”“आवाज–विहीनका आवाज बन्न, हामी एक भएर अघि बढ्दैछौँ।”