अंशुको हत्यामा संलग्न भएको अभियोगमा एक जना पक्राउ

प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ । हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएका छन्।

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। कन्चनपुरकी बालिका निर्मला पन्तकै जस्तो बलात्कार र हत्या भएको तर अभियुक्त पहिचानमा प्रहरी असफल भएको भन्दै तीव्र आलोचना भएको थियो।

घटनाको दुई महिनापछि बल्ल यो प्रश्नको जवाफ प्रहरीले परिणामबाट दिएको छ । बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि छिमेकी पदमबहादुर पक्राउ परे । घाँस काट्न गएकाहरुले ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर क्षत–विक्षत अवस्थामा अंशुको शव फेला परेको थिए ।

घटनापछि ३०० जना बढीसँगको अनुसन्धानपछि पदमबहादुरलाई पक्राउ गर्न सफल भएको कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए । उनका अनुसार मृतक बालिका र पक्राउ परेका अधिकारी छिमेकी हुन् ।