पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा चलाउने निर्णय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीसहितलाई भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनियमितता प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता प्रक्रिया चलिरहेको शिलापत्रलाई जानकारी दिए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा ५ पूर्व मन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गर्दैछ,’ जोशीले भने, ‘उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख बिगो दाबीसहित मुद्दा दर्ता भइरहेको छ ।’

पूर्वमन्त्री डा. रामशरण महत, भीम आचार्य, दीपक अमात्य, राजकुमार श्रेष्ठ र दिवंगत पोस्टबहादुर बोगटीविरुद्ध मुद्दा दायर हुन लागेको हो ।

बोगटीको निधनपछि उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ । अख्तियार टोलीले मुद्दा दर्ता प्रक्रियामा विशेष अदालतमा छ । पाँच मन्त्रीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको आर्थिक सहयोगमा २०७९ मा निर्माण सम्पन्न गरिएको थियो । प्रतिनिधिसभाका सार्वजनिक लेखा समितिको उपसमितिले यो निर्माणमा कैफियत देखाएको थियो । अख्तियारलाई निर्देशन दिएपछि आइतबार मुद्दा दायरको प्रक्रिया अगाडि बढेको हो ।