नेपालमा राजनीति ‘बाजे–नातिको प्रतिस्पर्धा’जस्तै भएको छ । एकातिर दशकौँदेखि राजनीतिलाई आफ्नै पेवा बनाएर हिँडिरहेका ‘बाजे’ नेताहरू छन्, उमेरले होइन सोचले । अर्कातिर ‘नाति’ पुस्ताका अनुहार छन् । नयाँ सोच बोकेका उनीहरू सामाजिक सञ्जाल र परिवर्तनको लहरसँगै जन्मिएका हुन् । दुवै पुस्ताको एउटै दाबी छ– ‘देश बचाउने’ । आगामी प्रतिनिधिसभा निर्वाचनमा जित कसको हुन्छ ? निर्वाचनको परिणामले देखाउने छ ।
बाजे पुस्ता देशमा विकास र समृद्धिको नेतृत्व होइन, सत्ताको ताला जोगाउने चौकिदार मात्र बनेका छन् । देशमा निम्तिने राजनीतिक संकटको समाधान ‘गठबन्धन’ र ‘समझदारी’को नाममा टालटुल पार्ने प्रवृत्तिको जननी यही पुस्ता हो । तिनका लागि राजनीति सेवा होइन, सत्ताको ढोका खोलिदिने माध्यम बन्यो । सिद्धान्त, विचार र जनताका समस्या उनीहरूका भाषणमा मात्र हुन्छन् । व्यवहारमा त सत्ताको सौदाबाजी मात्रै हुन्छ । उनीहरू सत्ता छोड्न कहिल्यै तयार छैनन् । त्यसैले वर्तमान राजनीति माक्र्सवाद, लेनिनवाद, माओवाद, बीपीवादजस्ता विचारधारामा आधारित होइन कि पूरापूर ‘कुर्सीवाद’उन्मुख बनेको छ ।
अर्काेतर्फ नाति पुस्तालाई यो ठिक लागेको छैन । उनीहरू असन्तुष्ट हुँदै उफ्रिरहेका छन् । खासगरी युवा नेताहरूको बोली चर्को सुनिन्छ । यतिसम्म कि कसैले त टिकटकमा लाइभ गर्दै नीति नै पो बनाइदिन्छन् । कसैले फेसबुकमा स्टाटस लेख्दै आफूलाई राष्ट्रवादी घोषणा गर्छन् । जबकि, जनता चाहन्छन्– रोजगारी, सुरक्षित भविष्य, विकास र स्थिरता । ठिक उल्टो नेताहरू चाहन्छन् – आफूले बोलेको सामाजिक सञ्जालमा ट्रेन्डिङ बनेको । अनि देखाउँछन्, गठबन्धनको जात्रा । चिन्तित हुन्छन्, बाढीमा बालुवासरी बग्दै गएको सत्ताप्रति । त्यसैले यो प्रतिस्पर्धा पुस्ताबीच होइन कि जिम्मेवारी र अहंकारबीचको हो । सधैँ च्यापिने चाहिँ जनता ।
पुराना नेताले सत्ता खोजे, नातिले ज्ञानभन्दा लोकप्रियता रोजे । परिणामत: आज देश बेरोजगार युवाको डम्पिङ साइट बनेको छ । विदेशिएको जनशक्ति, उजाडिएको गाउँ, महँगिएको बजार र त्यसमाथि अस्थिर सरकार । यस्तै व्यथितिको घेरामा जनता छन् । बाजे–नातिको प्रतिस्पर्धा अहिले सबैभन्दा रोचक राजनीतिक दृश्य बनेको छ । चुनाव नजिकिँदै जाँदा पुराना नेताहरू जसलाई देशले दशकौँदेखि झेल्यो, उनीहरूले फेरि सक्रियता बढाएका छन् । उमेरले बाजे भइसके पनि चुनावी जोशमा तन्नेरी बन्न चामत्कारिकता देखाउँछन् । तर, उनीहरूको सक्रियतामा देशप्रति समर्पण कम सत्ता जोगाउने चिन्ता धेरै देखिन्छ ।
यता नाति पुस्ताका नेताहरू पनि कम देखिँदैनन् । उनीहरू परिवर्तनका ठूल्ठूला नारा लिएर मैदानमा उत्रिएका छन् । सामाजिक सञ्जालमा लोकप्रिय र युवा भोट बैंकमा प्रभावशाली उनीहरू पुराना नेतालाई चुनौती दिन सक्ने सामथ्र्य राख्छन् । तर, हरेक लोकप्रियताको पछाडि एउटा ठूलो प्रश्न उभिन्छ—देश चलाउन आवश्यक सत्ता सञ्चालनको ज्ञान, रणनीति, प्रणालीको गहिरो समझदारी र धैर्यता कत्तिको छ ? चुनाव त जसले पनि जित्न सक्छन् तर देश चलाउन अनुभव–अनुभूति र जिम्मेवारीबोध चाहिन्छ ।
उसो त चुनाव नजिकिँदै जाँदा नेपालमा राजनीतिक वातावरण फेरि उस्तै पुरानै रंगमा फर्केको छ । पाँच वर्षसम्म देशलाई स्थिरता दिन नसक्ने, विकासलाई दस्तावेजमा मात्रै सीमित बनाइदिने र सत्ताको खेललाई नै मुख्य उपलब्धि ठान्ने पुराना नेताहरूको चुनाव नजिकिएपछि तडकभडक देखिन थालेको छ ।
पाँच वर्ष ‘सुनसान शासन’ चलाएका उनीहरूले चुनावी मौसममा ‘हामी जनताको सेवक’ भन्दै जागिर खान थालेका छन्, जुन दृश्य खेतबारीदेखि चिया पसलसम्मै देखिन्छ । गाउँघरतिर मोटरसाइकल चढेर फोटो, खेतमा गोरु जोतेर फोटो, टोल–टोलमा युवासँग कफी खाँदै फोटो र जनताको घरमा भात खाँदै फोटो–भिडियो अपलोड गर्छन् । तर, ‘नयाँ नेता’ भन्दै फोटो र भिडियो अपलोड गर्ने नेताहरूलाई जनताले चिनिसकेका छन् । जनताले बुझिसकेका छन् कि कुर्सीको खतरा महसुस हुँदा मात्रै जाग्ने प्रवृत्तिमा उनीहरू छन् ।
विडम्बना, चुनाव लोकतन्त्रको पवित्र प्रक्रियाभन्दा बढी मोलतोल, भागबन्डा र आर्थिक प्रभावले भरिएको ठूलो राजनीतिक मेलाजस्तै बनेको छ । पुरानाहरूले संगठन, पैसाको पहुँच र गठबन्धनको खेलले चुनाव जित्छन् । नयाँ पुस्ता डिजिटल लोकप्रियताले । तर, दुवैैले जनताको मतलाई राजनीतिक बाजीको चिप बनाइदिएका छन् । मत भने जनताको हातमा हुन्छ तर मतको मूल्य नेताहरूले आफ्नो सत्ता सुरक्षित गर्ने उपकरणमा मात्र रूपान्तरण गर्छन् ।
वास्तवमा समस्या बाजे वा नातिको हो भन्ने होइन । समस्या राजनीतिक चरित्रको हो । पुराना नेताहरूले पुरानै मानसिकता बोकेर राजनीति गरिरहेका छन् र नयाँ नेताहरूले लोकप्रियता बोकेर । देश उठाउन पुरानो मात्र चाहिन्छ न नयाँ मात्र । देशलाई चाहिएको हो—जिम्मेवार, पारदर्शी र कामकेन्द्रित राजनीतिक संस्कृति । निर्वाचन प्रक्रियाले उमेर हेरेर होइन, क्षमता हेरेर नेतृत्व छान्न सक्ने वातावरण बनाउनुपर्छ । पैसाको दुरुपयोग हटाउन कठोर कानुन, टिकट वितरणमा पारदर्शिता, जनतालाई मतदान–शिक्षा र नेताको पाँच वर्षे सार्वजनिक मूल्यांकन—यिनै सुधारबाट मात्र चुनावले देशको भविष्य बदल्न सक्छ ।
नत्र भने बाजे–नातिको चुनावी भिडाइमा जुनसुकैले जिते पनि हार देशले नै बेहोर्नुपर्छ । जनताको मत फेरिफेरि प्रयोग हुनेछ तर जनताको जीवन त्यही पुरानो घुम्तिमा अड्किएको हुनेछ । जनताले पनि राजनीतिक नाटकमा सधैं एक्स्ट्रा कलाकारकै भूमिका खेलिरहनुपर्ने छ ।
आजको नेपालमा असली प्रतिस्पर्धा पुस्ताबीच होइन, अहंकार र जिम्मेवारीबीच हो । यदि पुराना नेताले सत्ता जोगाउन मात्रै राजनीति गरे र नयाँ पुस्ताले ‘लोकप्रियता’मा मात्र देश हाँक्ने प्रयास गरे भने मार त देशले खान्छ । अब चाहिएको नेतृत्व भनेको बाजेको बुद्धि नातिको ऊर्जा । हाम्रो देशलाई बाजे मात्र चाहिन्छ न नाति मात्र । देशलाई चाहिएको हो— बुद्धि, विवेक, दृष्टि र विकासप्रति समर्पित नेतृत्व । पुरानाको अनुभव र नयाँको ऊर्जा मिश्रित नेतृत्व नै सम्भाव्य समाधान हो ।
यता नयाँ पुस्तासँग हालैको जेनजी आन्दोलनले जोडेको युवा लहर छ । यसपालिको चुनावमा सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने संकेत दिँदैछ । जेनजी आन्दोलनले पुरानै राजनीतिक संरचनालाई मात्र होइन, पुरानै राजनीतिक संस्कृतिलाई समेत चुनौती दिएको छ । आवाज सिधा छ– देशलाई दुई दशकदेखि अल्झाइराखेका, पार्टीभित्र कैद भएका, नेतृत्व परिवर्तनभन्दा गठबन्धन परिवर्तन गर्ने पुराना नेताहरू अब ‘जनताको प्रतिनिधि’ बन्न योग्य छैनन् । यही कारण जेनजी आन्दोलनले पुरानै नेतृत्वविरुद्ध गहिरो अविश्वास निर्माण गरेको छ र यही अविश्वास नै आगामी प्रतिनिधिसभा चुनावमा ठूलो लहर बन्ने संकेत देखिन्छ ।
तर, प्रश्न गम्भीर छ—पुराना बाजे पुस्ता र जेनजी पुस्ताको यो प्रतिस्पर्धा कुन मोडमा जान्छ ? पुराना दलहरूसँग संगठन, स्रोत, जड–बलियो संरचना र राजनीतिक व्यापार चलाउने क्षमता छ ।
उनीहरू चुनाव जित्नका लागि गठबन्धनदेखि टिकट–व्यापारसम्म सबै गर्न सक्षम छन् । जेनजी पुस्तासँग जोश, भीड, सडकको ऊर्जा र सामाजिक सञ्जालमा दबदबा छ तर यो ऊर्जा मतमा रूपान्तरण हुने कि नहुने ? त्यही खेल निर्णायक बन्नेछ । प्रतिनिधिसभा चुनाव केवल नेतृत्व परिवर्तनको ‘परीक्षा’ मात्रै होइन, देश कुन पुस्ताको हातमा जान्छ भनेर तय गर्ने मोड पनि हो । त्यसैले आगामी प्रतिनिधिसभा चुनाव पुस्ताबीचको लडाइँ मात्र होइन, पुरानो राजनीतिक चरित्र र नयाँ राजनीतिक चेतनाबीचको भिडन्त बनेको छ । यदि पुराना बाजेहरूले फेरि चुनाव जिते भने नेपाल फेरि पाँच वर्ष गठबन्धनको दलदलमा डुब्ने छ र देशको गति उस्तै घिस्रिनेछ । तर, यदि जेनजी लहरले मतदानमा निर्णायक प्रभाव पारे भने देश नयाँ मोडमा प्रवेश गर्नेछ—सडकबाट उठेको आवाज संसदमा प्रवेश गर्नेछ ।
तर चुनाव जुनसुकै पुस्ताले जितोस्, देश तब बदलिन्छ जब जनताले आफ्नो मत केवल भावना र नारा होइन, जिम्मेवारी, क्षमता र इमानदार राजनीतिक चरित्र हेरेर प्रयोग गर्छन् । जेनजी आन्दोलनले जनतालाई यही चेतना दिएको छ तर यसको परीक्षण भने अब चुनावमै हुनेछ । यदि यो चेतना मतमा परिणत भयो भने नेपाल एक नयाँ राजनीतिक युगमा प्रवेश गर्न सक्छ । नत्र, राजनीतिमा “बाजे–नातिको प्रतिस्पर्धा” चलि नै रहयो भने देश विनासको कथा बन्न सक्छ ।


















