भोटेकोशी बाढीपीडितको राहतमा क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

काठमाडौं, भदौ २२ गते। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि क्यासिनो माजोङले ५४ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण नदी आसपासका बस्ती तथा संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता देखिएको छ। बाढीका कारण घर, व्यवसाय तथा भौतिक संरचनामा क्षति पुगेका स्थानीय प्रभावित बनेका छन् भने विपद्पछि दैनिक जीवन सामान्य बनाउन थप सहयोग आवश्यक रहेको अवस्थामा क्यासिनो माजोङले राहतमा हातेमालो गरेको हो।

क्यासिनो माजोङ काठमाडौं, नेपालगञ्ज तथा वीरगञ्जको संयुक्त पहलमा संकलित उक्त रकम क्यासिनो माजोङका अध्यक्ष विनोद श्रेष्ठले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्क राज पौडेलसमक्ष हस्तान्तरण गर्नुभएको हो।

क्यासिनो माजोङ नेपाल, माजोङ वीरगञ्ज, माजोङ नेपालगञ्ज तथा नेपालगञ्ज र वीरगञ्जस्थित क्यासिनो माजोङका कर्मचारी र वीर गोर्खा सेक्युरिटी सर्भिससमेतको संयुक्त पहलमा उक्त सहयोग जुटाइएको जनाइएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको क्यासिनो माजोङले जनाएको छ।

विपद्का बेला सरकारी तथा गैरसरकारी क्षेत्र, निजी संस्था र नागरिकस्तरबाट हुने सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। क्यासिनो माजोङको यो सहयोगले बाढीपीडित परिवारलाई तत्कालीन राहतसँगै पुनःस्थापनाको प्रयासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।