बालेन र रबि फागुन २१ को चुनावमा मिलेर जाने बिषयमा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच संवाद भएको छ ।
रवि र बालेनबीच सोमबार राति करिब ६ घन्टा कुराकानी भएको थियो। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भएको उक्त भेटवार्ता मध्यरात करिब साढे १ बजेसम्म चलेको थियो। भेटवार्तापछि रवि र बालेन एउटै गाडीमा असिमको घरबाट बाहिरिएका थिए।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको अवस्था र आगामी चुनावलाई लिएर विस्तृत छलफल भएको बुझिएको छ ।
उनीहरुबीच भदौ २३ र २४ को घटनालाई कसरी हेर्ने, कसरी भयो र त्यसले राजनीतिक दलहरूको अवस्थामा कस्तो प्रभाव पारेको छ भन्ने र
फागुन २१ को चुनावमा बालेन र रास्वपा सँगसँगै मिलेर जानेबारे सुखद कुराकानी भएको रास्वपा स्रोतले बतायो ।

रविले पार्टी नेतृत्व र प्रधानमन्त्री फरक फरक बनाउने अवधारणा अघि सार्दै फागुन २१ को आमनिर्वाचनमा बालेनलाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बालेन निकट स्रोतले बताएको छ।
यसका लागि बालेनसमेत संलग्न ’देश विकास पार्टी’ र रास्वपा एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा राख्ने प्रस्ताव गरिएको बालेन निकट स्रोतले दाबी गरेको छ।