विश्वको इतिहास अध्ययन गर्दा समय क्रममा धेरै महत्त्वपूर्ण आन्दोलन भएका दृष्टान्त पाइन्छन्। फ्रान्सको राज्यक्रान्ति सन् १७८९, चीनको क्रान्ति सन् १९११, रुसी क्रान्ति सन् १९१७ जस्ता अनेकौँ रक्तपातपूर्ण आन्दोलन भई राज्य व्यवस्थामा क्रान्तिकारी परिवर्तन भएका छन्। तर, लडाइँ भिड्याइँ र मानव वलिदानीबाट मात्र पनि आन्दोलन सफल हुँदैनन्। शान्तिपूर्ण आन्दोलनबाट पनि सत्तापरिवर्तन भएका पनि अनेकौं उदाहरण संसारमा यत्रतत्र सर्वत्र पाइन्छन्। सन् १९६४ मा सुडान, सन् १९५२ मा इजिप्ट, सन् १९६९ मा लिबिया तथा सन् १९७४ मा पुर्तुगालमा यस्तै शान्तिपूर्ण आन्दोलनबाट सत्ता परिवर्तन भएको थियो। सन् १८६८ को गौरवपूर्ण आन्दोलन पनि यसै कोटीको चर्चित र उल्लेख्य आन्दोलन थियो। यी सबै आन्दोलनमा मौलिक एवं तत्कालीन दुवै कारण अवश्य थिए। प्राय: सबै आन्दोलन पश्चात् तत्कालीन कारणहरूको सम्बोधन गर्ने प्रशस्त प्रयास भए र त्यसतर्फ सर्वाधिक प्राथमिकता पनि दिइयो। तर, समस्याको मूल जरो पत्ता लगाई समाधान नखोज्दा आन्दोलनका शृङ्खला रोकिएनन्। आन्दोलनका मौलिक कारणहरू पहिचान गरी सोको सम्बोधन गरिएमा मात्र आन्दोलनका उपलब्धि चिरस्थायी भई सोही प्रकृतिका आन्दोलनहरूको पुनरावृत्ति नहुने ऐतिहासिक तथ्य सबैले हेक्का राख्नैपर्ने हुन्छ।
नेपालको इतिहासमा पनि धेरै आन्दोलन भए । त्यसको अल्पकालीन र दीर्घकालीन प्रभावको लेखाजोखा गर्ने कार्यमा विद्वानहरूको ध्यान अपेक्षित रुपमा आकर्षित भएको पाइँदैन। हिजोबाट शिक्षा नलिने हो भने हिजोका जस्तै घटना बारम्बार भोलि पनि घट्न सक्ने सार्वभौम तथ्यप्रति ध्यान नदिँदा अधिकांश आन्दोलनका उपलब्धि जगेर्ना हुन सकेनन्। संवत् २००७, २०४६ र २०६२-६३ का आन्दोलनका मौलिक कारणतर्फ ध्यान नदिई तत्कालीन कारणलाई समाधान गर्न भगीरथ प्रयत्न गरेकै कारण शासनसत्तामा पुग्ने त रमाए तर अधिकांश जनता ठगिन पुगे। जनआक्रोश,असन्तोष र धेरै कुरा अति भएपछि दीर्घकालदेखि सञ्चित ‘साइलेन्ट क्राइ’को परिणति थियो जेन्जी आन्दोलन र सो क्रममा भएका भौतिक जनधनको क्षति।
नेपालले अनुभव गरेका विगतभन्दा धेरै कुरामा पहिलो भयो यो जेन्जी आन्दोलन। युवा पुस्ताको अगुवाइमा भएको सशक्त आन्दोलन यो नै पहिलो भयो। यसैगरी दुई दिनमा आन्दोलनले सत्ता पल्टाएको पनि प्रथम ऐतिहासिक घटना यही भयो। सिंहदरबार, संसद् भवन तथा सर्वोच्च अदालतलगायत मुलुकभरका सरकारी भौतिक सम्पत्ति, नेताको घर तथा व्यापारीहरूको श्री सम्पत्तिमा आगजनी र लुटपाट भएको घटनामा पनि यही आन्दोलनले पहिलो हुने अवसर पायो। एकै दिन एउटै समयमा मुलुकभर सरकारी कार्यालय, नेताहरूका घर, बैंक तथा वित्तीय संस्था, हिल्टन होटल, भाटभटेनी सुपर स्टोर लगायत अनेकौं भौतिक संरचनामा आगजनी र लुटपाट भएको पहिलो घटना यही नै हो।
आन्दोलन दबाउन शक्तिको कम प्रयोग भएको पनि पहिलोपटक नै हो। भाद् २४ गते सुरक्षा निकायबाट आन्दोलनकारीलाई दबाउन खोजेको भए सरकारी भौतिक संरचनामा कम क्षति हुन्थ्यो तर धेरै आन्दोलनकारी सहिद हुने थिए। जनताको ज्यान बचाउन नै गोली नचलाएको भन्ने भनाइ पनि त्यतिबेला आएको थियो। आन्दोलन दबाउन सुरक्षा निकायबाट कम बल प्रयोग गरिएको आन्दोलन यो नै पहिलो भयो। यो आन्दोलनको तत्कालीन कारण त सरकारले फेसबुक म्यासेन्जर ह्वाट्अप आदि जनजीवन सँग जोडिएका र त्यसमाथि युवा पुस्तासँग गहिरो मित्रता राख्ने सामाजिक सञ्जाल बन्द गर्ने कार्य थियो। सो आन्दोलनको पृष्ठभूमि तयार पार्ने मौलिक कारणको सूची निकै लामो नै होला। संक्षेपमा भन्ने हो भने २०४६ सालपश्चात् समाजमा भएका विसङ्गति, चरम राजनीतिकरण, खस्कदो सुरक्षा व्यवस्था र चुलिँदो बेरोजगारी जस्ता अनेकौं कारण थिए।
जेन्जी आन्दोलन पश्चात् गठन भएको सरकारले सो आन्दोलनको तत्कालिक कारण र मौलिक कारण पहिचान गरी सोको सम्बोधन गर्ने अपेक्षा सबैले गरेका थिए र अझैसम्म पनि गरेकै छन्। तर, यो सरकारले पनि मौलिक कारणहरूको पहिचान गरी सोको निदान गर्नेभन्दा तत्कालीन परिस्थितिलाई नै बढी ध्यान दिँदै जाँदा मौलिक कारणहरू यथास्थितिमा नै रहँदा पुन: अर्को आन्दोलन आउन सक्ने सम्भावना पनि उत्तिकै देखिँदै छ। हालसम्मका नेपालमा भएका सबै आन्दोलनले विगतका जनआन्दोलनका मौलिक कारणमा ध्यान दिएको देखिँदैन। यथार्थमा भन्ने हो भने इतिहास बुझ्दै नबुझ्ने हिजो ‘मर्मले दिएको पर्म’ नतिर्ने जस्ता कार्यमा यो सरकारले निरन्तरता दिने छाटकाट देखिँदै छ। जसले गम्भीर समस्या निकट भविष्यमा नै आइनपर्ला भन्न सकिँदैन।
यस पृष्ठभूमिमा वर्तमान सरकारले हालैको आन्दोलनका मौलिक कारण पहिचान गरी सोको सम्बोधन गर्ने रणनीति र कार्यक्रम तयार गरी समाजबाट समर्थन जुटाउन आवश्यक छ। विगतका सरकारभन्दा पृथक् यो सङ्क्रमणकालीन सरकार भएकाले बढी चनाखो, वस्तुनिष्ठ र कार्यदिशामा स्पष्ट हुनुपर्दछ। आन्दोलनकारीको चाहना माग र अति महत्त्वाकांक्षाको कारणबाट सरकार गयो, संसद् विघटन भयो । कसो कसो कुन जादुटुना वा मोहनीले गर्दा हो राष्ट्रपतिको अस्तित्व चाहिँ गएन। प्रधानमन्त्री नियुक्त गरियो, दीर्घकालीन सोच राखेर होइन तत्कालैको आवश्यकताको आधारमा। प्रधानमन्त्रीकै इच्छा र आन्दोलनकारी तथा अन्य अदृश्य व्यक्तिरशक्तिको सिफारिसमा मन्त्रीहरू नियुक्त भए। सबै मन्त्रीहरूको योग्यता, क्षमता र पूर्वकार्यहरूको सम्परीक्षणमा यस्तै बताइयो। यो सरकारले पनि तत्कालीन समस्यालाई मात्र प्राथमिकता दियो र दिँदै छ। आन्दोलनको मौलिक कारणको पहिचान गर्नेतर्फ कुनै कदम हालसम्म चाल्न सकेको छैन। यस विषयमा ठूलो हिम्मत गर्ने साहस पनि देखिएको छैन। सरकार ‘कुम्लो बोकी ठिमीतिर’ लागेको हो वा ‘काशी जान कुतीको बाटो’ समाएको हो ठम्याउन सकिएन। आन्दोलनका मौलिक कारणसँग जोडिएका पात्रहरू पुन: शिर उठाउने र पूर्ववत स्थितिमा पुग्ने भगीरथ प्रयत्नमा नै छन्। यस स्थितिमा मुलुकले भोलि पनि आन्दोलनको साक्षी बस्नुपर्ने परिस्थिति आउन सक्छ। त्यसैले बेलामा नै नेपालको इतिहासमा देखिएका आन्दोलनहरूको मौलिक कारण पहिचान गरी त्यसको सम्बोधन गर्ने रणनीति अपनाउनुपर्ने हुन्छ। यसो भएमा भविष्यमा एउटै समस्या बारम्बार पुनरावृत्ति हुँदैन थियो कि रु समस्याको जड चाल पाएर पनि मुख नखोल्ने त झन् खतरनाक हुन सक्छ।
अस्तु


















