रास्वपामा बालेन-कुलमान समूहका पदाधिकारी समावेशबारे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङका तर्फबाट पदाधिकारीमा कति जना समावेश गर्ने भन्नेबारे पनि सहमति भएको छ ।

बालेन समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने सहमति भएको भनिएको छ । त्यस्तै, कुलमान घिसिङको समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता दिने सहमति छ । पार्टी सभापति रवि लामिछानेले बालेन र कुलमानलाई रास्वपामा सामेल गराउन छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर गरेका थिए । बालेनलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति गरिएको छ।

उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ । वरीयतामा कुलमानपछिका उपसभापतिमा डिपी अर्याल र स्वर्णिम वाग्ले छन् । अहिले रास्वपामा कबिन्द्र बुर्लाकोटी एक जना महामन्त्री छन्। सहमहामन्त्री पनि विपिन आचार्य मात्र छन् । सहप्रवक्ता भने प्रतिभा रावल र रमेश प्रसाईं छन् ।