skip this वडा नं १६ बालाजु च:मती

प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्लालाई जसपा नेपालकाे निर्देशन

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरी पठाउन पार्टीका प्रदेश तथा जिल्ला समितिलाई निर्देशन दिएको छ। पार्टी प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पार्टी विधानको धारा ११७ उपधारा (३) बमोजिम तोकिएका मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार चयन गरी नामावली पठाउन आग्रह गरिएको हो।

माघ १६ गते जारी परिपत्र अनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिले आफ्नो निर्णयसहित उम्मेदवारको नाम संकलन गरी रायसहित सात दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउनुपर्नेछ। यस सम्बन्धमा बिहीबार प्रदेश र जिल्ला समितिलाई औपचारिक जानकारी गराइएको बस्नेतले बताएका छन्।

पार्टीले उम्मेदवार सिफारिस गर्दा सम्बन्धित व्यक्तिको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्‍याएको योगदानसमेत स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ। सिफारिस भएर आएका उम्मेदवारहरूको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले लगाउने जनाएको छ।