दक्षिण कोरियाली सरकारी अधिकारीहरूले रोजगार अनुमति प्रणाली (ईपीएस)परिवर्तन गर्न नसकिने जनाएका छन् । ईपीएस मार्फत कामदार लैजाने १७ देशमा एउटै प्रणाली लागु भइरहेको भन्दै नेपालका लागि मात्रै परिवर्तन गर्न नसकिने कोरियाले स्पष्ट पारेको हो । नेपालका लागि मात्रै रोस्टरको म्याद थप वा प्रणाली परिवर्तन गर्न नसकिने कोरियाको भनाइ छ । भाषा परीक्षा पास गरेर पनि दुई वर्षदेखि कोरिया जान नपाएका नेपालीहरूको माग पूरा गर्न असम्भव रहेको कोरियाली सरकारी अधिकारीहरूले बताएका छन् ।
गत शुक्रबार कोरियाको रोजगारदाता तथा श्रम मन्त्रालयका अधिकारीहरू र नेपाली दूतावासका प्रतिनिधिबीच भएको बैठकमा उक्त कुरा स्पष्ट गरिएको हो । बैठकमा सहभागी नेपाली दूतावासका अधिकारीहरूका अनुसार ईपीएस लागु भएका १७ वटै देशमा एउटै प्रणाली रहेकाले नेपालका लागि मात्रै छुट्टै नियम बनाउन नसकिने कोरियाली पक्षको अडान थियो ।
सन् २०२४ मा खुलेको विज्ञापन अन्तर्गत २०२५ देखि कोरिया जान नपाएका नेपालीले रोस्टरको म्याद थप, रोस्टर परिवर्तन, रोजगारदाता समक्ष आफ्ना फाइल पठाउन पाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएका छन् । तर, कोरियाली अधिकारीहरूले यी कुनै पनि माग पूरा गर्न नसकिने जनाएका हुन् । हाल नेपालमा भइरहेको आन्दोलन क्रममा एचआरडी कोरियाका कर्मचारीहरूको तस्वीर बोकेर प्रदर्शन भएको देखेपछि उनीहरू त्रसित भएको जनाइएको छ ।


















