यही माघ २० गते धादिङको सदरमुकाम धादिङबेसीमा उद्योग वाणिज्य महासंघ धादिङले आयोजना गरेको दशौँ धादिङ महोत्सवमा चर्चित गायक एवं संगीतकार चेतन राईले दमदार प्रस्तुति गर्नुभएको छ । उहाँको प्रस्तुतिले महोत्सवमा सहभागी दर्शकहरूलाई मोहित बनाएको थियो ।
विगत डेढ दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका राईले अहिलेसम्म छ दर्जनभन्दा बढी गीतहरु गाइसक्नु भएको छ । आफूले गाउने धेरैजसो गीतहरूको रचना एवं संगीत आफैले गर्ने गायक राईले म्युजिक भिडियोमा निर्देशन एवं अभिनय समेत गर्नुभएको छ ।
एक दुई तीन, रमाइलो छ त्यो दिन, मरेर के लानु छ, तिमी धुन बन, हाँसि देउन लगायतका छ दर्जनभन्दा बढी लोकप्रिय गीतमा शब्द एवं स्वर दिनुभएका राईले पाँचवटा एल्बम समेत बजारमा ल्याइसक्नु भएको छ । साङ्गीतिक प्रस्तुतिकै क्रममा विदेशका विभिन्न सहर जाने क्रममा उहाँ जापान, दुबई, बैंकक लगायतका विदेशी सहरमा पुगेर समेत दर्शकहरुलाई आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै मोहित पार्नुभएको छ ।
उहाँले देशप्रेमले ओतप्रोत भएका प्रेमभावले भरिपूर्ण एवं रोमान्टिक गीतहरू गाउने गर्नुहुन्छ । सल्यानमा जन्मनुभएका राईले नेपाल र विदेशलाई समेत आफ्नो कर्मथलो बनाउँदै आउनुभएको छ । उहाँ हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सतुङ्गलमा बस्दै आउनुभएको छ ।
उत्कृष्ट सांस्कृतिक प्रस्तुतिकै कारण म्युजिक खबर म्युजिक अवार्ड २०८०, जिनियस म्युजिक अवार्ड २०८२ लगायतका दर्जनौं अवार्ड एवं पुरस्कार तथा सम्मानपत्र पाउनुभएका राईले गीत–संगीतको माध्यमबाट राष्ट्रको सांगीतिक क्षेत्रलाई योगदान दिँदै दर्शकहरूमा प्रेम र राष्ट्रभाव जगाउन सकेकोमा आफूलाई सन्तुष्टि मिलेको समेत बताउनुहुन्छ ।
उहाँले भावी दिनमा पनि आफू निरन्तर सांगीतिक यात्रामा रहिरहने बताउँदै दर्शकको माया पाइरहने विश्वास समेत व्यक्त गर्नुहुन्छ । त्यसो त हालै भएको धादिङ महोत्सवमा सहभागी भएका दर्शक एवं श्रोताले समेत राईको सांगीतिक क्षमताको राष्ट्र र सम्पूर्ण संगीत प्रेमीले सम्मान गर्नुपर्ने बताउँदै आफूहरू उहाँको प्रस्तुतिबाट अत्यन्त प्रभावित भएको समेत सान न्युजलाई बताए ।




















