नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको बताएका छन् । झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु,’ ओलीले भने, ‘यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो ।’
वेदहरूले भनेजस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले चाहेको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् ।’




















