राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गर्यो संकल्प पत्र ।

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको ’संकल्प पत्र’ सार्वजनिक गरेको छ।

’सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’को मूल नाराका साथ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार राजधानीमा आयोजित कार्यक्रमका बिच संकल्प पत्र सार्वजनिक गरेका हुन् । राप्रपाले अहिलेको प्रदेश तहलाई पूर्ण रूपमा खारेज गर्दै केन्द्र र बलियो स्थानीय तहसहितको दुई तहको शासकीय संरचनाको प्रस्ताव अघि सारेको छ। विशेष गरी स्थानीय तहलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन गैरदलीय आधारमा निर्वाचन गर्ने एजेन्डालाई पार्टीले प्राथमिकताका साथ उठाएको छ।
पार्टीको राजनीतिक दर्शनका रूपमा ’संवर्धनवाद’ लाई अघि सार्दै राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्था र सर्वधर्म समभावसहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको पुनस्र्थापनालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ। संकल्प पत्रमा वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को अवधारणालाई समेटिएको छ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिँदै राप्रपाले २०४६ सालपछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने कडा कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।

आर्थिक समृद्धिका लागि राप्रपाले जलस्रोत र ऊर्जा क्षेत्रलाई मुख्य आधार स्तम्भ मानेको छ। आगामी १० वर्षलाई ’ऊर्जा उत्पादन दशक’ घोषणा गर्दै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने निर्यातकर्ता मुलुकको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

साथै, कृषिमा आधुनिकीकरण, रासायनिक मल कारखानाको स्थापना, र प्रत्येक स्थानीय तहमा ’नेपाल मार्ट’ जस्ता परियोजना सञ्चालन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरिएको छ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा विकास गर्दै लाखौँ रोजगारी सिर्जना गर्ने र डिजिटल नेपालको अवधारणालाई पूर्ण कार्यान्वयन गर्ने पार्टीको संकल्प छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकको मौलिक हक सुनिश्चित गर्न राप्रपाले कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने र आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

यसैगरी पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनाउन प्राकृतिक, धार्मिक र साहसिक पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।
परराष्ट्र नीतिका सम्बन्धमा राप्रपाले ’सबैको मित्रता स्वीकार्य, हस्तक्षेप अस्वीकार्य’ भन्ने मान्यताका साथ ’नेपाल प्रथम, नेपाली प्रथम’ को सिद्धान्त अवलम्बन गर्ने बताएको छ। राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन नेपाली सेनाको गौरवलाई अक्षुण्ण राख्दै सेनाको सीप र दक्षता अभिवृद्धि गर्ने तथा सीमा सुरक्षालाई उच्च प्राथमिकता दिने पार्टीको नीति छ।
विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्ने र गैरआवासीय नेपालीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउने प्रतिबद्धतासहित राप्रपाले आफ्नो चुनाव चिह्न ’हलो’ मा मतदान गरी देशमा नवीन समझदारी निर्माण गर्न आम मतदातासँग अपिल समेत गरेको छ।