वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज भक्तपुरमा धुमधामका साथ मनाउँदैछन । विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ दलेर खुसी साटासाट गरी मनाइने यो पर्व भक्तपुरमा बेग्लै परम्परागत शैलीमा मनाइन्छ । दिल खोलेर नाचगान गर्ने , मेलमिलापको पर्व, आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्वलाई भक्तपुरमा धिमे बाजा खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरु भिं द्यो९परदेशी भिमसेन० मन्दिर गएर समेबजी खाई एकापसमा अविर दलेर मनाउने गर्दछ ।
भक्तपुरमा फागु पर्वको सुरुवात नै अन्यत्रभन्दा भिन्न हुन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी चीर गाडेपछि फागु पर्व सुरु भएको मानिन्छ । तर भक्तपुरमा फागु पर्व सुरु भएको जनाउ दिन दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा रहेको पाटीमा पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई समागमको आकृतिमा राखेर प्रदर्शन गरिन्छ ।सोही दिनदेखी सो पाटीमा भिमसेन गुठीका गायजुहरुले ‘भिमसेन देया लज्ज खङ लो वानला बिस्यूवाने म्वायक सो झायला अर्थात ‘भिमसेनको लिंगले देखेर लोभियो कि भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि बोलको यौनरस युक्त गीत गाउँदै बटुवाहरुलाई मनोरञ्जन दिने गर्दछ ।तचपाल भिमसेन मन्दिरको पाटीमा समागमको आकृतिमा प्रर्दशनमा राखिएको पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई द्धापर युगका भिमसेन र द्रौपदी समागमको रूपमा लिइन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिएपनि देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझुन् अनि यसलाई अश्लील र छाडा सिकाइको भान नपरोस् भनेर भीमसेन र दौपदीको समागमको रूपमा यौन शिक्षा दिइएको संस्कृतिकर्मीहरु बताउँछन । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्कमा समेत एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविदहरुको भनाई रहेको छ ।



















