फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।
यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिन रहेका छन् । चाडपर्व जतिसुकै आधुनिक परम्पाराले मनाएता पनि पुरानै गीत गुञ्जिने गरेको पाइन्छ । होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पर्व पनि हो । होलीमा रङ जस्तै गीतसङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीतसङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीतविना हाम्रा पर्व अधुरा छन् ।
हरेक होलीमा धेरै प्राथमिकता पर्ने गीत हो ‘होलीले रङ्गायो मेरो चोली’ । सन् १९९३ मा निर्माण भएको चलचित्र ‘अधिकार’ मा समावेश उक्त गीतले पर्व आएको आभाष दिलाउने गर्छ । आज आयोजना हुने कार्यक्रममा यो गीत नगुञ्जिने सम्भावना न्यून हुन्छ । अभिनेता राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल, नीर शाहलगायतका कलाकारले नृत्य गर्नुभएको गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ ।
चलचित्र ‘वसन्ती’ एक ऐतिहासिक विषयमा निर्माण भएको चलचित्रका रूपमा चिनिएता पनि यसमा समावेश ‘फागु हो फागु हो’ बोलको गीत होलीमा धेरै गुन्जिने गीतमा पर्छ । राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा उक्त गीतमा देखाएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर, निरुता सिंहलगायतका कलाकार देख्न सकिन्छ ।
नेपालका प्रख्यात उपन्यासकार डायमण्डशमशेर राणाले लेख्नुभएको उपन्यास ‘वसन्ती’ मा आधारित रहेर निर्माण भएको उक्त चलचित्र नीर शाहले निर्देशन गरेको हो । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत र ज्ञानु राणा तथा लोचन भट्टराईको स्वर छ ।
नेपाली चलचित्र ‘सीता’ मा समावेश गीत ‘आज जनकपुरमे होली है’ अझै पनि उत्तिकै लोकप्रिय छ । अभिनेता श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनित उक्त चलचित्रको प्रदर्शन विसं २०५१ सालमा भएको थियो । उक्त गीतमा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने कुरा देखाइएको छ । यस्तै, चलचित्र ‘बटरफ्लाई’मा समावेश ‘होली रे’, चलचित्र ‘फागु’मा समावेश ‘आऊ न आऊ खेलौँ होली’, चलचित्र ‘गाजलु’मा समावेश ‘रङ रङ्गा’ होलीमा आज गुञ्जिरहेका छन् ।
निर्देशक पुर्णेन्द्र झा निर्देशित चलचित्र ‘संरक्षण’ मा समावेश ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको समय धेरै बज्ने गीतमध्येको एक हो । भोजपुरीमा शब्द रहेको यो गीत छायाङ्कन गर्न होलीको आयोजना नै गरिएको निर्देशक झाले बताए ।
“तराईको कथावस्तुमा निर्मित चलचित्र भएकाले हामीले होलीको सन्दर्भ पारेर गीत तयार गरेका थियौँ । अन्य समयमा गीतको खासै चर्चा नभएता पनि होलीमा भने यो धेरै सुनिने गीतमा पर्छ । हामीले यसमा मिथिला क्षेत्रमा मनाइने होलीलाई देखाएका छौँ । अन्य सामान्य गीत भन्दा केही खर्चिलो भएता पनि यो गीतले संस्कृति महत्व बोकेको छ”, निर्देशक झाले भने।
होली बाहेकको समयमा छायाङ्कन गरिएकाले उक्त अवधिभर होलीको माहोल सिर्जना गरिएको उनले बताए। होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रूपमा लिएको छ ।
उनले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी हुन् सफल भएको बताए। “हामीले उल्लेख गरिरहेको गीतहरू चलचित्रमै प्रसङ्गसहित आएका थिएँ । त्यही भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले गीतिसङग्रहको तुलनामा बढी प्रचार पाउँछन्, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ”, सङ्गीतकार पोखरेलले भने ।
सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउनु हुन्छ । नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन । “म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै लोकप्रिय गीत गाउने गरेको छु । उक्त गीतको बारेमा सबैलाई थाहा भएकाले त्यसमा सबैले रमाइलो गर्नुहुन्छ”, गायक गिरीले भने । आज पहाडी भेगमा होली पर्व मनाइए पनि तराईमा भने भोलि मनाइने छ ।




















