राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा जाने सांसदहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले आज बिहान केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै समानुपातिक सांसदहरूको सूची आजै टुंग्याएर आयोगमा बुझाइने जानकारी दिए। उनका अनुसार समानुपातिक उम्मेदवारहरूको नाम अन्तिम रूप दिन र अन्य समसामयिक विषयमा छलफल गर्न पार्टीको बैठक पनि आज बस्नेछ। झाले रास्वपाको पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली टुंग्याएर आयोगमा बुझाउने रहेको बताए। उनले भने, “हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं।”
सरकार गठनबारे सोधिएको प्रश्नमा उनले तत्कालै नयाँ सरकार बन्ने सम्भावना कम रहेको बताए। संवैधानिक तथा प्रशासनिक प्रक्रियाहरू अझै बाँकी रहेकाले नयाँ सरकार गठन हुन करिब १० दिन जति लाग्न सक्ने उनको अनुमान छ। उनका अनुसार संसद सचिवालयले आवश्यक तयारी गर्नुपर्ने, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने तथा त्यसपछि समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्नुपर्ने प्रक्रिया बाँकी छ। “यी सबै प्रक्रिया फरक-फरक निकायसँग सम्बन्धित भएकाले ठ्याक्कै समय यकिन गरेर भन्न सकिँदैन,” उनले भने, “तर समग्र प्रक्रिया पूरा हुन अझै करिब १० दिन लाग्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।”


















