देवघाटः आध्यात्मिक उर्जा पारितोषिक धाम

 

माघको मध्यमा केही दिन देवघाट धाममा बसियो। म जस्तो आध्यात्मिक भावना न्यून भएको व्यक्तिलाई पनि त्यहां एक प्रकारको गज्ज्वको उर्जा प्राप्त भयो। देश, काल, परिस्थितिले मानिसलाई बदल्छ भनिन्छ, हो रहेछ। यो छोटो देवघाट बसाइले, ज्ञान नभए पनि आध्यात्मतर्फ उन्मुख हुन मलाई मज्जाले प्रेरित ग¥यो। त्यसैबाट आल्हादित हुंदै यो संक्षिप्त आलेख पाठक समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु।
नेपाल देश सानो भइकन पनि अनगिनत विविधताले भरिपूर्ण समृद्ध देश हो। यसका कारणहरू पनि छन्। विश्वको सब्र्बोच्च टाकुरा अर्थात् सगरमाथा नेपालमै अवस्थित छ। नेपालमा प्राकृतिक सौन्दर्य यति छन् कि जसको कारणले पर्यटक लोभ्याउने अपार संभावना छ। भौगर्भिक वा भौगोलिक अवस्थिति अन्तर्गत हिमाल, पहाड र मधेशका आ–आफ्नै उत्कृष्टता रहेकोले नेपाल विश्वजगतमा नमुनीय भूभाग हो भन्न कुनै हिचकिचाहट गर्न पर्दैन। नारी आदर्शताको प्रतिक माता सीता र विश्वमा शान्तिको सन्देश फैलाउने बुद्ध यहीं जन्मेका हुन्। भृकुटी, अरनिको लगायतले नेपालको संस्कृति एवं वास्तुकला चीनसम्म विस्तार गरेकै हुन्। मन्दिरै मन्दिरको शहरमा रहेको पशुपतिनाथ नेपालको मात्रै नभएर समस्त सनातनीहरूको अत्यन्त श्रद्धापूर्वक पुजिने स्थल हो भने, मुक्तिनाथ, लुम्बिनी, स्वर्गद्वारी, खप्तड लगायत अनगिनत आध्यात्मिक स्थलहरू नेपालमै छन्। ६ हजार भन्दा बढी नदी नाला तथा से फोकसुण्डो, रारा, छो रोल्पा, गोसांई कुण्ड, फेवा, बेगनास, दूधपोखरी, आदि तालहरू कतिछन् कति गनि साध्य छैनन्। १२४ भाषा बोल्ने जनजाती लगायतका मानिसका बसोबासको थलो नेपाल भएकोले खानपीन, लोककला, संगीत, पर्व, संस्कृतिमा रहेका विविधता गनेर साध्य हुंदैन। परंपरा र आधुनिकताको सहअस्थित्व नेपालमा प्रचुर छः गुरुकुल, गुठी, मुठ्ठी दान, पर्म जस्ता नेपालीपना विश्वमा कतै पाइन्छ होला र? अतिथि देवो भनेर पाहुनालाई मानिन्छ, किनकी नेपाली मन र पन अत्यन्त स्वच्छ, सहयोगी, सह्ृदयी एवं मनकारी छ।
माथिका सबै समृद्धताका प्रतिकहरूका बारे एउटा आलेखमा कुरा थाल्ने हो भने अलपत्र हुन्छ। तसर्थ यस आलेखमा नेपालको आध्यात्मिक क्षेत्र देवघाट हो, हुुनपर्छ, हुनसक्छ र कालान्तरसम्म विश्व जगतका मानिसहरू सनातन सिक्न देवघाट धायर आउन् भन्ने उद्देश्यले यो लेखको थोरै उठान गरियो।
देवघाटलाई धाम भनिन्छ। हो पनि, यस ऐतिहासिक एवं पवित्र स्थल त आध्यात्मिक तीर्थ नै हो। यो यस्तो संगम हो, जहां सालिग्राम बोकेर आएकी काली गण्डकी तथा गोसांई कुण्डमा महादेवको त्रीशुल जलधाराबाट निस्केकी त्रिशुली यहीं आएर मिल्दछिन्। श्री राम बनवासकालमा यहां आउनु भएको किंवदन्ती रहेको छ। वाल्मिकी ऋृषिले यहीं तपस्या गर्नु भएको विश्वास गरिन्छ। धेरै साधु–सन्तहरूले यसै स्थानमा तपश्या गरेर आफ्ना आध्यात्मिक तत्व हासिल गरी ज्ञान बांड्दै जीवन निर्वाह गरेको पाइन्छ। तीर्थहरूमा गरिने विवाह, व्रतवन्ध, भागवत पुराण, पिण्ड दान, श्राद्ध, तर्पणको अलावा मोक्ष प्राप्तिको खातिर गरिने सम्पूर्ण धार्मिक कार्यक्रमहरू यहां सञ्चालन हुन्छन्। नेपाली जनमानसमा यहां आएर स्नान, दान र श्राद्ध गरेमा पितृहरू तृप्त हुन्छन् भन्ने ठूलो मान्यता छ। माघे संक्रान्ती, एकादशी, बालाचतुर्दशी, शिवरात्री जस्ता पर्वहरूमा यहां हुने मानिसहरूको जमघटले यस भूभागको महत्वलाई अत्यन्त उजागर गर्ने गर्छ। देवघाट मन्दिर र आश्रमहरूले भरिएको थलो भन्नुमा अत्युक्ति हुंदैन। मन्दिरहरूमाः रामजानकी, लक्ष्मीनारायण, सीताराम, गणेश, भैरबनाथ, शिवालय, शंकराचार्य, राधाकृष्ण एवं आश्रमहरुमा– धर्मदर्शन, श्रीप्राणनाथ सेवा, ओसो मेडिटेशन सेन्टर, साइ आनन्द माया आदि नारायणघाटपटिृ रहेका छन् भने पारिपटिृ मन्दिरहरूः गलेश्वर महादेव, बटुकभैरव, कालिका, सीताकुण्ड, वाल्मिकी गुफा, आदि र आश्रमहरूमाः गलेश्वर, महेश सन्यास, वाल्मिकी, विष्णु, ओम नारायण एकादशी, माता–पिता, श्री शुकदेव भागवत आदि रहेका तथ्यांङ्क पाइयो।
देवघाटमा जेष्ठनागरिकहरू आफ्ना पछिल्लो समय यहीं निवृत्त गर्न चाहन्छन्। कारण छः यस स्थानमा प्रकृति, नदी, आस्था र आध्यात्मको एकिकृत मिलन छ। देवघाटमा आध्यात्ममा झुकाव भएका पं. सोमनाथ घिमिरे व्यास जस्ता विभिन्न महानुभावहरूले जग्गा खरिद गरी भवन निर्माण गरेर यहीं अन्तिम अवस्था विसजर्न गरेको थाहा हुन्छ। त्यस्तै एकल महिला वा पुरुष कतिपय व्यक्तिहरू यहीं मठ मन्दिरमा रहेर आफ्ना अन्तिम क्षण कुरीरहेका पाइन्छन्। यहां केही दिन शान्त भएर भजन, कीर्तन र पूजाआजामा विताउंदाको आनन्द मात्र पनि अवर्णनीय हुन्छ। तबः अन्तिम घडीमा यहां शान्त एवं निश्चल भएर वित्न पाउनु जस्तो कुरालाई भाग्यमानी ठानिन्छ। भनिन्छः यस्तो शौभाग्य सबैलाई कहां मिल्छ र?
सर्वप्रथम देवघाटको चिनारी जरुरी भयो। नेपाली नै के कतिलाई देवघाटको महत्व बारेमा जानकारी होला? सबभन्दा पहिले त हामीले हाम्रो स्थान विशेषको महत्वलाई चिन्नु प¥यो। यतिले त पक्कै पुग्दैनः विश्व जगतलाई चिनाउनु प¥यो। तसर्थ विविध भाषामा ‘देवघाट चिनारी’ छपाइएका वा विद्युतीय माध्ययमका सामाग्रीहरू तयार गर्ने र व्यापक प्रचार प्रशार गर्न नितान्त जरुरी भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत देवघाट क्षेत्र विकास समिति स्थापित छ। तर हामी सर्वसाधारणले समितिको आभास सम्म पनि गर्न पाएनौं। सामाजिक सञ्जालमा यस समितिले प्लाष्टिक निषेध क्षेत्र घोषणा गरेको पढन पाइयो, तर बजारमा वा नदी किनारमा जतसुकै प्लाष्टिक छरपष्टै छ। हाम्रा समिति एवं निकायहरू देखाउने मात्र भए, काम गर्ने भएनन्। देवघाट क्षेत्र प्रवेश गर्नासाथ, नेपाली भए नेपालीमा, भारतीय भए हिन्दीमा र अन्य जो कोहीलाई कमसेकम हाललाई अंग्रेजीमा सानो एउटा पर्चा त थमाउन त सकिन्छ नि। त्यसैमा जो कोहीलाई केमा रुची छ सम्पर्क गर्नु होस् भनेर वेवसाइट वा सामाग्रीसंग जोडाउन त कुनै गाह्रो हुंदैन होला, खै त? पर्चामा विविध कुराहरू सम्प्रेषण गर्न सकिन्छ जस्तैः ‘जहां नदीहरू मिल्छन्, त्यहां आत्माहरू पनि मिल्दछन्’, ‘एकपटक पुग्नै पर्ने स्थानः देवघाट– नेपालको जीवित आध्यात्मिक स्थल’, आदि।

पूर्वाधारको हिसाबले देवघाट अत्यन्त पछाडी परेको छ। स्वच्छता र शान्तता प्राप्त गर्न सरसफाईको पहिलो भूमिका हुन्छ। त्यही पहिलोकै कमी यहां देखिन्छ। मोटर वा तीनपाङ्गे कहांसम्म गुड्न पाउने, मानिसले देवघाट थोरै भएपनि चिन्न कुन गोरेटो पछ्याउंदै कसरी अघिबढने?, देवघाटको सामान्य परिचय लिन कम्तिमा कति समय लाग्ने र कहां कहां जानै पर्ने? आदि कुराहरू देवघाट प्रवेशद्वारमै बताइनु पर्छ। दुई÷पांच मिनेटको हिंडाइमा व्यवस्थित शौचालयहरू, स्वच्छ पिउने पानीको बन्दोबस्ती, आराम गर्न सुविधायुक्त चौतारीहरू, फोहर राख्ने भांडाहरू ठाउं ठाउंमा राख्नु पर्ने जस्ता साधारण भौतिक सुविधा पनि छैननै भन्नु पर्छ। ती भन्दा ठूलाः सरकारी तहबाट गरिने नदी किनार संरक्षण, कहां के गर्ने भनेर छुट्याइएका सुन्दर तरिकाका घाटहरूको निर्माण, सरल फराकिलो पैदल मार्गको व्यवस्था, ठूला तर सुविधासम्पन्न धर्मशालाहरू त कोशौं दूरको परिकल्पना हो।
हामी देवघाटलाई आध्यात्मिक केन्द्र मान्छौं। यदि यसमा अडिग हुने हो भनेः त्यहां राष्ट्रद्वारा स्थापित आध्यात्मिक अनुभव केन्द्र खै? जहां नियमित ध्यान, योग, मौन साधना आदि विभिन्न विधामा, सक्नेसंग शुल्कलिने गरी ३, ५ वा ७ दिने आध्यात्मिक अभ्यासको लागि उपयुक्त साधना शिविरहरू निरन्तर चलिरहोस्। प्रकृतिले सित्तैमा दिएको घाम, पानी हावा, आदि बाहेक विश्वमा केही निशुल्क हुंदैन। तसर्थ क्षमतावानले आफ्ना शक्ति अनुरुप तीर्ने गरी सुविधा लिएवापत शुल्क तीर्नुपर्ने दायित्वलाई आधार बनाएर धर्मशाला वा आध्यात्मिक अभ्यास सत्रहरूको शुल्क तोक्न मजाले सकिन्छ। आधा आधा घण्टाको सामुहिक आध्यात्मिक परिचय कार्यक्रम सबैलाई निशुल्क गर्ने र तदोपरान्त स्वइच्छाले भाग लिने अन्यान्य कार्यक्रमहरूका लागि अशक्तका लागि निशुल्क, अन्यलाई न्यूनतम देखि उच्चतम शुल्क लिन हिच्किचाउन पनि हुंदैन। यी अनुभव लिने विधा पनि विभिन्न हुनसक्छन् जस्तैः वेदको बारेमा होला, गीताको ज्ञान लिने होला, उपनिषद्का कुराहरू सिक्न होला, सन्यास जान्ने कुराहरू होला, कुनै विषयमा अनुसन्धान गर्ने होला …। चिडियाखाना वा संग्रहालयमा रम्न र साधारण जान्न पनि पैसा तीर्नु पर्छ भने यो त आध्यात्मिकतामा डुब्न हो, भेटी विना रित्तै हात कसरी हुन्छ र?
नेपाल पुरै मन्दिरको देश हो। तर हाम्रो आध्यात्मिक संग्रहालय खै त? देवघाटमा पुग्ने मानिसले नेपालका उल्लेख्य देवदेवी तथा मन्दिरहरूको झलक त हेर्न पाउनु प¥यो नि। तब न उनीहरूले पहिले स्वर्गद्वारी जाने कि, पशुपतिनाथ पुग्ने वा मुक्तिनाथ, खप्तड अथवा अन्यत्र जाने भनेर योजना गर्छन्। एकजना भारतीय सन्त पशुपतिनाथ दर्शनमा आएपछि, पशुपतिनाथको भक्तिमा डुवेर दिल्ली स्थित उहांले स्थापना गर्नुभएको आनन्द धाममा श्री पशुपतिनाथको मन्दिर बनाउनु भएको छ भने हामी कहां छौं खै? देवघाटमा नेपालका सबै धर्म सम्प्रदायका विशिष्टतम ग्रन्थहरू लिपिवद्ध वा कुंदिएका आध्यात्मिक सरसामाग्रीहरू जे जति सकिन्छ खोजेर, मन्दिरहरू उस्तै उस्तै बनाएर एउटा राम्रो जैविक बगैंचा सहितको आध्यात्मिक संग्रहालय निर्माण त गर्नै पर्छ। यसै संग्रहालय भित्र एउटा ठूलो सभाकक्ष बनाएर वार्षिक आध्यात्मिक महोत्सव, योग ध्यान शिविर, गीता वेद जस्ता विधामा साधु सन्तहरूसंग जनमानसको प्रत्यक्ष सम्बाद, विशेष दिन अनुरुपको प्रवचन, विश्वभरबाट आध्यात्मिक गुरुहरू बोलाएर सम्मेलन गर्ने जस्ता कृयाकलापहरू गराउन सकिन्छ।
हामी आफूलाई सनातनी भन्छौं। ॐकार समुहमा आवद्ध छौं। तब उद्देश्य अनुरुप आश्रम, पाठशाला, शिक्षालय के कस्ता हुनु पर्ने भनेर किटान गरी हाम्रा गुरुकुल, संस्कृत एवं आध्यात्म शिक्षाको लागि एकिकृत प्रणाली बनाएर अघिबढनु पर्ने हुन्छ। हाम्रा नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय एवं यी विषयका क्याम्पसहरू सबैसंग सहकार्य गरी ‘नेपाल आध्यात्म शिक्षा पद्धति’को विकास गरेर तद्अनुरुप एउटै पाठ्यक्रम सबै स्थानमा लागु गराउनु अपरिहार्य देखियो। तब न विदेशीहरू म के पढेर के हुन्छुृ भन्ने मानेर रुची अनुकूलका विषयमा आफ्ना अध्ययन, सोध, अनुसन्धानका लागि नेपाल आउन प्रेरित हुन्छन्। नेपाललाई विश्व समक्ष प्रस्तुत गराउने एउटा सबल पक्ष आध्यात्म हुन सक्छ। ‘संस्कृत, आध्यात्म, प्रकृति एवं शान्तिको संगम थलो देवघाट’ भनेर हामीले आफ्ना राजदूतावास मार्फत् विश्वमा सूचना सम्प्रेषण गरी आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्दै एउटा अर्को आयामबाट नेपाललाई चिनाउन सक्छौं। ‘देवघाटमै सुविधा र श्रोतसाधन यहिंका’ भनेर नदीको प्रशोधित पानी, गौशालाका गाइका दूधजन्य पदार्थहरू, स्थानीय निकायमै लगाइएका जैविक उत्पादनको प्रयोग, शौर्य उर्जाको उपयोग, गोलो घर लगायत नेपालको परंपरागत निर्माणशैलीका भवनहरू आदिलाई एकिकृत गर्न सकेमा सोको छुट्टै महत्व हुने र त्यही स्वच्छ र सात्विक नविनताको रसास्वादन गर्न पाहुनाहरू लालायीत हुने अवस्था सृर्जना गर्न सकिन्छ।
आश्रम र गुरुकुलको सन्दर्भमा, मैले महेश सन्यास आश्रम र गलेश्वर आश्रमको बारेमा थोरै खोज गर्दाः महेश सन्यास आश्रममा बटुकहरूलाई वैदिक अध्ययन; संस्कृत भाषा र व्याकरण; धर्मशास्त्र र दर्शन; योग ध्यान र ब्रह्मचर्य अभ्यास; स्तोत्र भजन र कीर्तन; व्यावहारिक जीवन शिक्षा; आधुनिक शिक्षा आदि पढाइने मात्र नभएर सो आश्रममा त चरित्र निर्माण, अनुसाशन, साधना र सेवा भाव पनि सिकाइने रहेछ। सो को मूल उद्देश्य नै विद्या, विनय, सेवा र साधनालेयुक्त आदर्श ब्रह्मचारी तयार गरी भविश्यका वेदज्ञ पण्डित निर्माण गर्नु रहेछ।
त्यस्तै गलेश्वर आश्रममा वैदिक तथा धार्मिक शिक्षा; आध्यात्मिक साधना र अनुशासन; चरित्र निर्माण र नैतिक शिक्षा; सेवा र व्यावहारिक शिक्षा; संस्कार तथा संस्कृति संरक्षण; संस्कृत, नेपाली अंग्रेजी, गणित, धर्मशास्त्र तथा दर्शन जस्ता औपचारिक शिक्षा पनि दिईंदो रहेछ। अर्थात् गलेश्वर आश्रमको शिक्षाको उद्देश्य पनि बटुकहरूलाई केवल पण्डित होइन, संस्कारी, अनुशासित, आत्मनिर्भर एवं आध्यात्मिक व्यक्तित्व बनाउने भनिएको छ।
झट्ट हेर्दा यस्तो लाग्छ, देवघाटलाई गलेश्वर, महेश सन्यास, विश्व जारण महाअभियान ट्रष्ट, धर्म दर्शन आश्रम जस्ता संस्थाहरूले चिनाइरहेका छन्, धानिरहेका छन् र भविश्यमा पनि यिनै संस्थाहरूले नेतृत्व गरेर देवघाटलाई उजागर गर्ने हुन्। आध्यात्मिक उत्थानमा सरकारी संयत्र भनेको कतै टुक्रा टुक्री यदाकदा झुल्किने बादल जस्तै देखियो।
नेपालीले स्वयंसेवालाई स्पष्टसंग बुझेका छन् जस्तो लाग्दैन। कारण स्वयंसेवा भनेको आफ्नो नितान्त फुर्सतको समयमा मनपर्दी घडिमा, घामले नसताउने वा पानीले नभिजाउने बेलामा यसो कुनै संस्थामा उपस्थित भएर समय विताउनेरुपमा बुझिने गरेको छ। त्यसो होइन। स्वयंसेवा भनेको स्वतस्फूर्तरुपमा अमुक कामको लागि म यति समय दिलोज्यानले दिन्छु, जे परिआएको गर्छु भन्ने अठोटसाथ समर्पण गर्ने निस्वार्थ सेवा भावलाई स्वयंसेवा भनिन्छ। देवाघाटमा कति समयको लागि, के कस्ता कामका लागि, के कुन सीप योग्यता वा अनुभव भएका स्वयंसेवीहरूको खांचो छ भन्ने कुरा किटान गरेर स्वयंसेवी आह्वान गर्न सकेमा आ–आफ्ना अनुकुल महिनामा नेपालभरबाट स्वयंसेवीहरू आएर सेवा दिन्छन् भनी विश्वस्त हुन सकिन्छ। ‘देवघाट जाऔं सेवा गरौं र चञ्चल मनलाई शान्त पारौं’ वा यस्तै अन्य अभियान सञ्चालन गर्ने हो भने र उनका लागि आतेजाते यातायातको सुविधा तथा देवघाटमा बस्न खानको प्रवन्ध गरिदिए विद्यार्थी एवं युवामा ‘स्वयंसेवाको सही संस्कृति’ शुरु हुन सम्भव छ।

देवघाट जस्तो प्राचिन, प्राकृतिक आध्यात्मिक थलो राजनीति, वाद, व्यवसाय जस्ता जुन सुकै प्रभावबाट नितान्त अलग रहनु पर्छ। त्यति मात्र होइन, देवघाटमा कसले के गर्न हुन्छ, के गर्नु हुंदैन, कहां कहां के कस्ता विधिविधान गर्ने हो त्यहींमात्र गर्न पाइने जस्ता कुराहरूको आचार संहिता तोकिनु पर्छ र साधु, आगन्तुक, हामी सर्वसाधारण सबैले सहर्ष पालना गर्नु पर्छ। सो आचार संहिता कुनै लामो, पालना गर्न नसकिने वा झण्झटिलो पनि बन्नु हुंदैन। साधारण हुन्छ, सबैको अपनत्वमा तयार हुन्छ र सबैका लागि स्वीकार्य हुन्छ।

देवघाटमा रहे देखिनै मनमा लागेको कुरा त भन्नै पर्ने भयो। नारायणघाट पटिृको वारी भाग छोटो समयको लागि अर्थात् आधा दिन वा बढीमा एकरात सम्म बस्ने आगन्तुकहरूका लागि पूजा, जप, तप आदि गर्न र देवघाटको बारेमा जान्न, सिक्न आउनु हुने व्यक्तिहरूका लागि– रहने, बस्ने, खाने लगायतका अत्यन्त राम्रा सरसुविधालेयुक्त थलो बनोस्। यहां रहेका व्यक्तिका घरहरू राज्यले उचित रकम दिएर अघिकरण गरोस्। तत्पश्चात् यहां सरकारी बन्दोबस्तीका कार्यालय, सूचना सम्प्रेषण थलो तथा गुठी, मठ, मन्दिरहरू मात्र रहोस् र नितान्त देवघाट चिनारीको प्रचुर झांकीहरू यहां व्यवस्था गरियोस्। यहांबाट निस्कनु पर्ने, तर देवघाटमै देहत्याग गर्न चाहने मनसायले बसोबास गर्नु भएकाहरूलाई पारिपटिृ एउटा स्थानमा एकैस्वरुपका स–साना संरचना बनाई राम्रो तरिकाले स्थानान्तरण गराइयोस्।
पारीपटिृ अर्थात् काली गण्डकी तर्फ भने फराकिला सडकमा दायां वायां ठूल ठूला आश्रमहरू, आध्यात्मिक शिक्षालयहरू, वैदिक अनुसन्धान केन्द्र, आध्यात्मिक चिन्तन मननका लागि विशाल सभाकक्षहरू, देवदेवीका मन्दिरहरू, अस्पताल, विपद् प्रतिरोधात्मक केन्द्र, आध्यात्मिक पुस्तकालय एवं संगहालयहरू, जैविक बगैंचा जहां जेष्ठ नागरिकहरू प्रात सांझ आराम लिंदै डुल्न सकुन्, एकिकृत बजार व्यवस्थापन आदि एउटा विशाल धाममा चाहिने सबैकुराहरू योजनावद्ध तरिकाले निर्माण होस् ताकि, योजना यस्तो होस्, आगामी चार पांचसय वर्षसम्म पनि कुनै केही कुराको अप्ठेरो नपरोस्। कल्पना वा सपना न हो, आगे सरकारको मर्जी !