नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय नेताको हिसाबले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ?
यो चुनाव २०८४ मा हुनु पर्नेमा २०८२ फागुन २१ गते सम्पन्न भयो। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ सिट प्राप्त गरेको छ। हाम्रो पार्टीको सोचे जस्तो परिणाम आएन। मैले त विगतदेखि भन्दै आएको थिएँ—हामी सच्चिनु पर्दछ भनेर। आम जनताको भनाइ पनि देशमा चरम बेथिति र भ्रष्टाचार भयो, त्यो रोक्नु पर्दछ भन्ने थियो। हामी नसच्चिएको कारण यस्तो परिणाम आयो।
कम्युनिष्टहरू जनचाहना अनुरूप नसच्चिएको कारण सक्किने दिशामा गएका हुन् त?
सक्किएका छैनन्, अब सच्चिएर जानु पर्दछ। बामपन्थीहरू सत्तामा हुँदा राम्रो डेलिभरी दिन सकेनन्। पुराना नेताले राष्ट्र र जनताको लागि के गर्ने? जनताको भावना के छ भनेर सोचेनन्। नेताहरूले आफ्ना एजेन्डाअनुसार योजना बनाउनु भन्दा एकले अर्कालाई गाली मात्र गरे। उनीहरूले जनताको भावना बुझेनन्, त्यसैले यस्तो परिणाम आयो।
तपाईंले कम्युनिष्टहरू सक्किने दिशामा छैनन् भने पनि विगतमा विभिन्न कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको मत पचास प्रतिशतभन्दा बढी थियो। अहिले यो प्रतिशत धेरै घटेको छ। यसले त सक्किने दिशामै गएको देखिँदैन र?
मैले भन्दै आएको छु—बामपन्थीहरू सत्तामा हुँदा राम्रो डेलिभरी दिन सकेनन्। केही राम्रा काम गरे पनि, गरेका कामको समेत राम्रोसँग प्रचार गर्न सकेनन्। सुशासन दिन र भ्रष्टाचार रोक्न सकेनन्, जसले गर्दा जनताले नयाँहरूलाई मत दिए। जनताले पुराना पार्टी र नेतालाई ‘सुध्र’ भनेका थिए, उनीहरू सुध्रिएनन्। जनताले हेर्ने भनेको सत्तामा हुँदा के काम गरे भनेर हो। जनताले ‘अब सुध्र, नत्र विकल्प छन्’ भनेका हुन्। यसैलाई कम्युनिष्ट सिद्धियो भन्न मिल्दैन। अब सुध्रनु पर्दछ, सुध्रनुको विकल्प छैन।
अब यहाँहरूको पार्टी कसरी अगाडि बढ्छ?
हामीले २२ वटा पार्टीबीच एकता गर्यौँ, तर एकता लगत्तै चुनावमा जानु पर्यो। एकता पछि कसको के जिम्मेवारी के हुने भनेर पनि तोकिएको थिएन। हामीले हाम्रा एजेन्डा के हुने, अब कसरी जाने भनेर पनि जनतालाई स्पष्ट बुझाउन सकेनौँ। अब पुरानो ढर्राले हुँदैन। हिजो त्यत्रो मत आउँदा जनतालाई राम्रो डेलिभरी दिन किन सकिएन? यसको समीक्षा गर्दै जनताको बीचमा माफी माग्दै नयाँ तरिकाले अगाडि बढ्नु पर्दछ। विचार र व्यवहार मिल्नु पर्यो। मैले बारम्बार भन्दै आएको छु—देशमा रोजगारी नहुँदा करिब ७० लाख युवा देश बाहिर छन्। देशमा उत्पादन छैन, रोजगारी छैन। अब देशमा उत्पादन बढाउने र रोजगारी दिने मुद्दा उठाउनु पर्दछ। सुशासन दिने र भ्रष्टाचार रोक्ने मुद्दा उठाउँदै जनतासँग जोडिएर काम गर्छौँ।
चुनाव पार्टीले हारेपछि नेपाली कांग्रेसका नेता गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुभयो, यद्यपि त्यो अस्वीकृत भयो। नेकपा एमालेभित्र पनि केपी ओलीको राजीनामा मागिँदै छ। तपाईंहरूले प्रचण्ड र माधव नेपालको राजीनामा माग्नु हुँदैन?
हामीले पार्टी एकता गर्दा ६ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट थियो। त्यसैले असारसम्म महाधिवेशन होला, नभए केही पछि भए पनि हुन्छ। यो २५०० को केन्द्रीय कमिटीको काम छैन। योग्य र खट्न सक्ने व्यक्ति केन्द्रीय समितिमा रहने हो। त्यसैगरी संयोजक र सह–संयोजकले महाधिवेशनपछि नेतृत्वमा रहँदैनौँ भन्नुभएको छ। अब कस्तो नेतृत्व बनाउँदा उचित हुन्छ भन्ने महाधिवेशन प्रतिनिधिले नै निर्णय गर्छन्।
कम्युनिष्टहरू फुट्दा यस्तो भयो, अब कम्युनिष्टहरू मिल्नु पर्दछ भन्ने पनि छन् नि?
हो, कम्युनिष्टहरू टुटफुटमा मात्र रमाए भन्ने जनताको गुनासो छ। जनताको सुझाव—कम्युनिष्टबीच एकता हुनु पर्दछ भन्ने छ। त्यसैले म पनि अब एमाले सहितको कम्युनिष्ट एकता हुनु पर्दछ भन्ने पक्षमा छु।
चुनावमा रास्वपाले करिब दुई तिहाइ अर्थात १८२ सिट जितेको छ। यो जितलाई कसरी लिनुहुन्छ?
जनताले यो पटक पुरानालाई होइन, नयाँलाई मौका दिन्छौँ भने। नयाँलाई चुने। यो जनताको अधिकारको कुरा हो। हामीले पनि हाम्रा मुद्दा बुझाउन सकेनौँ होला। जनताले नयाँ नै चुन्छौँ भनेपछि हाम्रो केही लागेन। जनताले रास्वपालाई मत दिए। म तपाईँकै मिडियामार्फत बाले शाह र रवि लामिछानेलाई बधाई दिन चाहन्छु। यसलाई अचम्म मान्नु पर्दैन। हामीले जनताको मन जित्न सकेनौँ। अब जनताको मन जित्ने गरी लाग्नुको विकल्प छैन।
चुनावी परिणाम हेर्दा देशव्यापी रूपमा रास्वपाको पक्षमा जनलहर देखिएको यस्तो होला भन्ने सोच्नुभएको थियो?
विशेषगरी पुराना दलहरूले जनताले चाहे जस्तो सुशासन र विकास निर्माणका काम गर्न नसकेको कारण नयाँको पक्षमा जनलहर गएको देखिन्छ। मैले बारम्बार भन्दै आएको छु—देशमा रोजगारी नभएर करिब ७० लाख युवा देश बाहिर छन्। देशमा उत्पादन छैन, रोजगारी छैन। मैले त विगतदेखि भन्दै आएको थिएँ—हामी सच्चिनु पर्दछ भनेर। आम जनताको भनाइ पनि देशमा चरम बेथिति र भ्रष्टाचार भयो, त्यो रोक्नु पर्दछ भन्ने थियो। हामी नसच्चिएको कारण यस्तो परिणाम आयो। मैले त पार्टीमा भन्दै आएको थिएँ—जनताले नयाँपन खोजिरहेका छन् भनेर, तर मेरो कुराको सुनुवाइ भएन।
करिब दुई तिहाइ सिटसहित सरकार बनाउने तयारीमा रहेको रास्वपाका सामु कस्ता सम्भावना र चुनौती देख्नुहुन्छ?
रास्वपाका सामु अवसर र चुनौती दुवै छन्। अहिले राम्रो हुन्छ भन्ने सोच्नु पर्दछ। रास्वपालाई हाम्रो शुभकामना छ—राम्रो गर्नुहोस्। रास्वपामा पढेलेखा, विषयवस्तु बुझेका व्यक्ति पनि धेरै छन्, राम्रो गर्नुहोला। यो राष्ट्र उहाँहरूको पनि हो, हाम्रो पनि हो। राष्ट्रका लागि राम्रो काम जसले गरे पनि हुन्छ। अहिले नकारात्मक नसोचौँ, राम्रो गर्नुहुन्छ भनेर सोचौँ।
तपाईं पेशाले अधिवक्ता पनि हुनुहुन्छ। रास्वपाले देशमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन दिने भनेको छ। यो काम गर्न अहिले भएकै कानुन पर्याप्त छन् कि नयाँ कानुन बनाउनु पर्ने देख्नुहुन्छ?
कतिपय कानुनहरूमा अपूर्णता छन्। संविधान र कानुन समयअनुसार परिमार्जन गर्दै जान सकिन्छ। रास्वपामा पनि कानुन पढेका व्यक्ति चुनाव जितेर आउनुभएको छ। काम गर्दा बाधा आए, बाधा पार्ने विद्यमान कानुन र संवैधानिक व्यवस्था संशोधन गर्नुहुनेछ। संसद भनेको कानुन बनाउने अंग नै हो। उहाँहरूको संसदमा दुई तिहाइ नजिक सिट छ। भ्रष्टाचार रोक्न, देशमा सुशासन दिन जे–जे गर्नु पर्दछ, गर्नुहोस्—हाम्रो पनि त्यसमा साथ रहन्छ।
अहिले विभिन्न पक्षले संविधान संशोधन गर्नु पर्ने माग राख्दै आएका छन्। तपाईं के भन्नुहुन्छ?
मेरो पार्टीको निर्णय होइन, मेरो व्यक्तिगत धारणा राख्नु पर्दा—म समानुपातिक प्रणाली हटाउनु पर्दछ भन्ने पक्षमा छु। मन्त्रिपरिषद्को संख्या पनि २५ बाट घटाएर १५ सदस्य बनाउनु पर्दछ। पूर्व प्रधानमन्त्रीले राज्यबाट पाउने सेवा–सुविधा हटाउनु पर्दछ। राजनीति गर्ने भनेको सेवा हो। स्वेच्छिक सेवा दिएबापत जीवनभर राज्यको सेवा–सुविधा लिन पाउने व्यवस्था हटाउनु पर्दछ। प्रदेशको संख्या पनि घटाउनु पर्दछ। यसो गर्दा राज्यको खर्च घट्छ।
समानुपातिक प्रणाली हटाउँदा महिला, जनजाति लगायत पछि परेका वर्गको प्रतिनिधित्व नहोला नि?
त्यस्ता प्रतिनिधित्व गराउनु पर्नेहरूलाई राष्ट्रिय सभामा लैजाने व्यवस्था गर्न सकिन्छ। बरु राष्ट्रिय सभामा केही सिट थप्न सकिन्छ। महिलाहरूका लागि निश्चित निर्वाचन क्षेत्रमा कोटा छुट्याउन सकिन्छ। यसो गर्दा प्रत्येक पटक फरक–फरक निर्वाचन क्षेत्र छुट्याउन सकिन्छ।
पेशाले कानुन व्यवसायी भएको हिसाबले अब बन्ने सरकारले न्यायिक क्षेत्र सुधारका लागि के गर्नु पर्दछ?
जनताले हेर्ने र आशा गर्ने न्यायालयसँग हो। अहिले न्यायाधीशको नियुक्तिदेखि कार्यसम्पादनसम्म जनताले प्रश्न उठाउने गरेका छन्। विशेषगरी न्यायाधीश नियुक्ति दलगत आधारमा भयो भन्ने आरोप छ। दलगत भागबण्डा गरेर होइन, योग्य व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नु पर्दछ। हामीले अदालत, प्रहरी, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा भागबण्डा गर्यौँ—यो विकृति हो। यस्तो विकृति हटाउनु पर्दछ। म तपाईँकै मिडियामार्फत भन्छु—भागबण्डाको अन्त्य गरी योग्य र क्षमतावानलाई अवसर दिऔँ।
जेनजी आन्दोलनको छानबिन रिपोर्ट बाहिर आएको छैन, के भन्नुहुन्छ?
जेनजी आन्दोलनमा ज्यान गुमाएका दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै सो आन्दोलनमा दमन गर्ने र सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाउने जो–सुकै भए पनि दुवै पक्षलाई कारबाही हुनु पर्दछ।




















