सर्वदलीय बैठक बस्दै: प्रतिनिधिसभा अधिवेशन तयारीमा जुट्यो

संघीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सर्वदलीय बैठक बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरबार संसद सचिवालयमा महासचिवको कार्यकक्षमा आयोजना हुने भएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा ६ दलले स्थान पाएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल ले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त अधिवेशनको आह्वान गरिसकेका छन्। सर्वदलीय बैठकले आगामी अधिवेशन संचालनका विषयमा छलफल गर्दै तयारी पूरा गर्ने कार्यसूची तय गर्ने अपेक्षा गरिएको छ। यस बैठकले संसद्का दुवै सदनमा समन्वय र सहकार्य बढाउने अवसर हुने विश्वास गरिएको छ, जसबाट आगामी विधायी कामकाज सुचारु र प्रभावकारी ढंगले अगाडि बढाउन सकिनेछ।