गृहमन्त्री सुधन गुरूङले फेवाताल क्षेत्रको जग्गा प्रकरणबारे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई औपचारिक जवाफ दिएका छन्।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीसँग जोडिएको जग्गाबारे स्पष्ट जानकारी दिन आग्रह गरेका थिए। गृहमन्त्री गुरूङले आफ्नो सचिवालयमार्फत जारी लिखित जवाफमा भनेका छन्, करिब ८–१० वर्षअघि आफू र दुई साथीहरूले पोखरामा पर्यटन तथा ग्रामीण विकासको लागि लगानी सुरु गरेका थियाैँ । उक्त जग्गा आफ्नै नाममा नभई भाडामा लिएर काम अघि बढाइएको थियो। प्रारम्भमा ६५ मिटर सीमाभित्र नपर्ने जानकारी र लालपुर्जा प्राप्त भए पनि पछि नगरपालिकाबाट जग्गा ६५ मिटर सीमाभित्र पर्ने थाहा पाएपछि परियोजना रोक्नुपरेको उनले बताएका छन्।
गुरूङले अवैध ठहरिएको जग्गामा थप लगानी नगरी कानुनी उपचार खोज्ने निर्णय गरेको उल्लेख गर्दै, संलग्न पक्ष र सञ्चारमाध्यमलाई तथ्य नबुझी हतारमा समाचार प्रकाशन नगर्न अनुरोध गरेका छन्।


















