अमेरिकामाथि भरोसा छैन ः इरानी संसद्का अध्यक्ष गालिबाफ

 

इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन् । उच्चस्तरीय वार्ताका लागि पाकिस्तान पुगेका गालिबाफले वार्ता सुरू हुनु अघि इस्लामावादबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।

बीबीसीका अनुसार इस्लामाबाद पुगेपछि प्रतिनिधिमण्डलका साथ आएका इरानी पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि इरानमाथि माथि आक्रमण भएको र कयौं युद्ध अपराध गरिएको बताएका छन् ।

‘हाम्रो उद्देश्य सही छ, तर हामीलाई अमेरिकाप्रति भरोसा छैन,’ इरानी संसद्का अध्यक्ष गालिबाफले भनेका छन् ।

इरानी रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्धित इरानको सरकारी न्युज एजेन्सी ‘तसनिम’ का अनुसार गालिबाफले अमेरिकाले साच्चै सम्झौताका लागि तयार भएर इरानी नागरिकलाई वैध अधिकारका लागि मान्यता दिए इरानले सम्झौताका लागि पूर्णतया तत्परता देखाउने पनि बताएका छन् ।

‘यदि, अमेरिकाले वार्तालाई शक्ति प्रदर्शन अथवा धोका दिने रणनीतिका रूपमा उपयोग गर्न चाहे इरान आफ्ना नागरिकको अधिकारको रक्षाका लागि आफ्नो क्षमतामा भरोसा गर्नका लागि तयार छ,’ उनले भनेका छन् ।

वार्ताका लागि अमेरिका र इरानको उच्चस्तरीय टोली आज पाकिस्तानको इस्लामाबाद पुगेका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।