काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता जोगाउन आज (शनिबार) देखि ‘भेहिकल फ्री असन’ कार्यक्रम विधिवत् रूपमा सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक तथा व्यापारिक गरिमालाई पुनर्जीवित गराउने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण रोक लगाएको हो ।
आज वैशाख ५ गतेदेखि लागू हुने गरी असन प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन चल्न दिइएको छैन । जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइएको छ । असन आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, अब हरेक शनिबार असनमा सवारीको कोलाहल हुने छैन । त्यसको सट्टा यहाँ : रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शनी हुनेछ ।
स्थानीय बाजागाजा, गायन र नृत्यका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिहरूको प्रवर्द्धन गरिनेछ ।
महानगरपालिकाको वडा नं. २७ को नेतृत्व र स्थानीय क्लबहरूको सक्रियतामा सुरु भएको यस अभियानले असनको वायु प्रदूषण कम गर्न र पैदल यात्री, विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
यसै अभियानको अवसर पारेर आजैदेखि असन लगायत महानगरका ८ विभिन्न स्थानमा ‘वाटर एटीएम’ समेत सञ्चालनमा ल्याइएको छ । महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा जडान गरिएका यी एटीएमबाट सर्वसाधारणले निःशुल्क रूपमा शुद्ध पिउने पानी पाउनेछन् ।


















