इरानले होर्मुज जलमार्गमा बिछ्याएको विस्फोटक पदार्थ हटाउन अमेरिकाले अत्याधुनिक ‘रोबोटिक’ प्रविधि परिचालन गरेको छ । व्यापारिक जहाजको आवागमनका निम्ति अमेरिकाले यो कदम चालेको हो ।अमेरिकी नौसेनाले मानवरहित ‘अन्डरवाटर’ प्रविधि प्रयोग गरेर समुद्रको सतह र पिँधमा बिछ्याइएका विस्फोटक पदार्थको पहिचान गरिरहेको छ । सेनाले आरटीएक्स कर्पोरेसनद्वारा विकसित ड्रोन प्रयोग गरिरहेको छ । त्यसले यूएक्यूएस–२० नामक तैरिने सोनार प्रणालीलाई तान्ने गर्छ ।
उक्त प्रणालीले एकपटकमा १०० फिट चौडाइ क्षेत्रसम्म समुद्रको पिँधमा रहेका खानीको जाँच गर्न सक्छ । परम्परागत तरिकाले हप्तौँ लाग्ने काम रोबोटको सहयोगले निकै छोटो समयमा भइरहेको छ ।
विश्वको कुल तेल र द्रवीकृत प्राकृतिक ग्यासको करिब २० प्रतिशत यही होर्मुज जलमार्ग भएर पार हुन्छ । बारुदी सुरुङका कारण ठप्प भएको व्यावसायिक मार्गलाई सुरक्षित बनाउनु र विश्वव्यापी ऊर्जा आपूर्तिलाई सन्तुलनमा राख्नु यो ‘अपरेसन’को मुख्य लक्ष्य हो ।


















