अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार अस्पतालमा अनुमति बिना प्रवेश गर्ने, बिरामी तथा स्वास्थ्यकर्मीको फोटो–भिडियो खिच्ने र उपचार प्रक्रियामा अवरोध गर्ने जस्ता गतिविधि भइरहेको गुनासो आएको छ ।
यसले बिरामीको गोपनीयता उल्लङ्घन हुनुका साथै उपचारमा नकारात्मक असर परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस्ता कार्य ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ र मुलुकी अपराध संहिता, २०७४ अनुसार कानुनविपरीत हुने स्पष्ट पारेको छ।
त्यस्तै, सम्बन्धित निकायलाई समेत जानकारी दिइसकिएको र कानुन उल्लङ्घन भए कडा कारबाही गरिने चेतावनी दिइएको छ । मन्त्रालयले समस्या भए कानुनी बाटो अपनाउन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।


















